काठमाडौं, जेठ ५ । नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले प्रतिनिधिसभामा श्रम संस्कृति पार्टीका सांसदहरूले प्लेकार्डसहित गरेको विरोध प्रदर्शनप्रति टिप्पणी गर्दै विगतको संसदीय अभ्यास स्मरण गर्नुभएको छ ।
सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै उहाँले प्रतिनिधिसभामा श्रम संस्कृति पार्टीका सांसदहरूले गरेको प्रदर्शनलाई लक्षित गरी यसअघि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूले गरेको ‘नीलो स्कार्फ’ प्रदर्शनको प्रसंग उल्लेख गर्नुभएको हो ।
उहाँले लेख्नुभएको छ, ‘हर्क साम्पाङले सदनमा प्लेकार्डसहित विरोध जनाउनुभएकोमा सभामुखले रुलिङ नै गर्नुभएछ, झल्झली आँखामा विगतको यादले नोस्टाल्जिक भएँ, मैले घाँटी कस्सिने गरी नीलो स्कार्फ नबेर्न र कपी झिकेर सभामुखको अगाडि पाठ नपढ्नुस्, नजिर बस्छ भनेको थिएँ, उ बेला मान्नुभएन, अहिले कालो ड्रेसवालाभन्दा पनि कडा हर्कको सामना गर्नुपरेछ ।’
प्रतिनिधिसभाको हिजोको बैठकमा श्रम संस्कृति पार्टीका सांसदहरूले ‘प्रधानमन्त्री कहाँ हुनुहुन्छ ?’ लगायतका नारा लेखिएका प्लेकार्ड प्रदर्शन गर्दै विरोध जनाउनुभएको थियो । सभामुखले संसदको मर्यादा कायम राख्न यस्ता गतिविधि नगर्न निर्देशन दिनुभए पनि सांसदहरू दिनभरि प्लेकार्डसहित बैठकमा बस्नुभएको थियो ।
यसअघि विघटित प्रतिनिधि सभाकाे बैठकमा रास्वपाका सांसदहरूले पनि संसदमा नीलो स्कार्फ बाँधेर विरोध जनाउनुभएको थियो । नेता बाँस्कोटाले त्यही घटनालाई स्मरण गर्दै अहिलेको प्रदर्शनलाई ‘नजिरको परिणाम’ का रूपमा टिप्पणी गर्नुभएको हो ।













प्रतिक्रिया दिनुहोस्