नवराज पथिक
रामेछाप, जेठ ५ । रामेछापको दुर्गम उमाकुण्ड गाउँपालिका–२ बाम्तीमा ठडिएको ठूलो अस्पताल भवन अहिले गाउँलेहरूको आशा र पीडाको प्रतीक बनेको छ । करोडौँ खर्चेर बनेको आधारभूत अस्पतालको भवन प्रयोगविहीन छ । भवन तयार भए पनि अस्पताल सञ्चालनको स्वीकृति नआउँदा स्थानीय अझै सामान्य स्वास्थ्य चौकीकै भरमा बाँच्न बाध्य छन् ।
गम्भीर बिरामी पर्दा गाउँलेहरूले आज पनि हेलिकोप्टर रिजर्भ गरेर काठमाडौं पुग्नुपर्ने अवस्था रहेको छ । समयमै उपचार नपाउँदा ज्यानै गुम्न सक्ने डरले दुर्गम बस्तीका वृद्ध-वृद्धा, गर्भवती महिला र दीर्घरोगीहरू त्रसित बन्ने गरेका छन् ।
स्थानीय वडाध्यक्ष खम्बध्वज बस्नेतका अनुसार तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले अघि सारेको ‘एक पालिका एक अस्पताल’ कार्यक्रमअन्तर्गत उक्त अस्पताल भवन निर्माण गरिएको हो ।
संघीय सरकारको बजेटबाट अस्पताल भवन बने पनि अस्पतालको स्वीकृति, दरबन्दी र आवश्यक जनशक्ति व्यवस्थापन नहुँदा सेवा सञ्चालन हुन नसकेको उहाँले बताउनुभयो । ‘स्वास्थ्य चौकीको ठाउँमै जग्गा खरिद गरेर अस्पताल भवन बनाइयो । अब छिटोभन्दा छिटो अस्पताल सञ्चालन होस् भन्ने हाम्रो चाहना हो,’ उहाँले भन्नुभयो ।
गाउँपालिका अध्यक्ष शेरबहादुर सुनुवारले पनि अस्पताल सञ्चालनका लागि आफूहरूले निरन्तर पहल गरिरहेको बताउनुभयो । उहाँका अनुसार केन्द्र सरकारबाट औपचारिक स्वीकृति नआए पनि गाउँपालिकाले आफ्नै स्रोतबाट डाक्टर राखेर सेवा सञ्चालन गर्ने प्रयास गरिरहेको छ । ‘ डाक्टर नै बस्न नमान्ने भए, दुर्गम ठाउँमा डाक्टर बस्ने वातावरण बनाउन स्थानीयको पनि साथ आवश्यक छ,’ उहाँले भन्नुभयो ।
स्थानीयहरू भने अस्पताल भवन हेरेरै पीडा पोख्छन् । ‘यत्रो भवन बनेको छ, तर बिरामी हुँदा काठमाडौं कुद्नुपर्छ,’ स्थानीयले गुनासो गरे । उनीहरूले वाग्मती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापा मगरसँग अस्पताल सञ्चालनका लागि पहल गरिदिन अनुरोध गरे ।
स्वास्थ्य मन्त्री थापा मगरले आधारभूत अस्पताल सञ्चालनका लागि संघीय सरकारबाट दुई जना मेडिकल अधिकृतसहित स्वास्थ्यकर्मी आउने र प्रदेश सरकारले समेत सहयोग गर्ने बताउनुभयो । तर त्यसअघि अस्पताल सञ्चालनको औपचारिक स्वीकृति प्रक्रिया अघि बढाउनुपर्ने उहाँको भनाइ छ । ‘स्थानीय तह, प्रदेश सांसद र नागरिक सबैले मिलेर दबाब दिनुपर्छ,’ उहाँले भन्नुभयो ।
अहिले पनि बाम्तीमा स्वास्थ्य चौकीकै भवनबाट सामान्य सेवा मात्र प्रवाह भइरहेको छ । तर छेउमै रहेको विशाल अस्पताल भवन भने सुनसान छ । गाउँलेहरूका लागि त्यो भवन केवल इँटा र सिमेन्टको संरचना मात्र होइन, उपचार नपाएर गुमेका आफन्तहरूको सम्झना र कहिल्यै पूरा नभएको राज्यको वाचाको प्रतीक बनेको छ ।













प्रतिक्रिया दिनुहोस्