जनता टाइम्स

६ जेष्ठ २०८३, बुधबार ०८:१२

प्रधानन्यायाधीश मनोज शर्मालाई विजयकुमार पाण्डेको शुभकामना : परम्परा तोडेर पनि योग्य सावित हुन सक्नुहाेस् 


काठमाडौं, जेठ ६ । वरिष्ठ पत्रकार विजयकुमार पाण्डेले नवनियुक्त प्रधानन्यायाधीश मनोज शर्मा लाई शुभकामना दिँदै निष्पक्ष, निर्भय र विश्वासिलो न्याय प्रणाली निर्माण गर्न आग्रह गर्नुभएको छ।

सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको लामो स्ट्याटसमा पाण्डेले आफूभन्दा वरिष्ठ तीन न्यायाधीशलाई पन्छाएर प्रधानन्यायाधीश पदमा नियुक्त भएका शर्मालाई शुभकामना व्यक्त गर्दै ‘परम्परा तोडेर पनि योग्य सावित हुने’ नेतृत्वका रूपमा स्थापित हुन सक्ने आशा व्यक्त गर्नुभएको हो।

उहाँले लेख्नुभएको छ, ‘आफूभन्दा वरिष्ठ ३ न्यायाधीशलाई पन्छाएर प्रधानन्यायाधीश पदमा नियुक्त हुनु भएकोमा सबैभन्दा पहिले शुभकामना दिन चाहन्छु । म आशा गर्छु, आगामी दिनमा हामी सबै भन्न सकौँ– परम्परा तोडेर नेपालमा एक यस्तो मानिसलाई प्रधानन्यायाधीश बनाइयो, जो परम्परा र नियमित ट्र्याक तोडेर पनि प्रधानन्यायाधीश पदमा आसीन गराइन साँच्चिकै योग्य थियो ।’

पाण्डेले असाधारण ढङ्गले उच्च जिम्मेवारी प्राप्त गर्ने व्यक्तिबाट संविधान र समाजले पनि असाधारण क्षमता, निष्पक्षता, निर्भयता र उदार समभावको अपेक्षा गर्ने उल्लेख गर्नुभएको छ।

उहाँले शर्माको कार्यकाल समाप्त हुँदा समर्थन वा विरोधका आधारमा नभई न्यायिक इतिहासले गौरव गर्ने वातावरण बन्नुपर्ने धारणा व्यक्त गर्नुभएको छ।

स्ट्याटसमा पाण्डेले पञ्चायतकालीन न्याय प्रणालीको एउटा ऐतिहासिक प्रसङ्ग पनि स्मरण गर्नुभएको छ। उहाँले तत्कालीन सर्वोच्च अदालतले राजद्रोह मुद्दामा पक्राउ परेका बीपी कोइराला लाई रिहा गर्ने आदेश दिएको प्रसङ्ग उल्लेख गर्दै त्यसलाई न्यायिक साहसको उदाहरणका रूपमा प्रस्तुत गर्नुभएको हो।

उहाँले संविधानविद् गणेशराज शर्मा को भनाइ उद्धृत गर्दै लेख्नुभएको छ, ‘त्यो शासक के शासक, जसले नियुक्त गरेका न्यायाधीशहरू भय र प्रभावमा फैसला गरून् ! मलाई जति खुसी र गौरव बीपीको रिहाइमा छ, त्यतिकै गौरव राजाले नियुक्त गरेका ती केही इमानदार, सक्षम र निर्भय न्यायाधीशहरूमा पनि छ, जसले राजद्रोहको अभियोग लागेका अभियुक्तलाई रिहाइको आदेश दिए ।’

पाण्डेले शर्माको नेतृत्वमा नेपालको सर्वोच्च अदालत सबैले आदर र विश्वास गर्न लायक संस्था बन्न सकोस् भन्ने शुभकामना व्यक्त गर्नुभएको छ।