जनता टाइम्स

६ जेष्ठ २०८३, बुधबार १०:४२

दुर्गमका समस्या बुझ्दै, नागरिकलाई राज्यको अनुभूति दिलाउँदै वाग्मतीका स्वास्थ्य मन्त्री किरण थापा मगर


रामेछाप, जेठ ६। नेपालको राजनीति र राज्य संयन्त्रप्रति ग्रामीण बस्तीका नागरिकको एउटा साझा गुनासो छ- चुनावका बेला नेता आउँछन्, आश्वासन दिन्छन्, त्यसपछि गाउँ फेरि एक्लै छोडिन्छ। सिंहदरबार र प्रदेश राजधानीमा बसेर योजना बनाउनेहरूलाई दुर्गम गाउँको पीडा कहिल्यै महसुस हुँदैन भन्ने बुझाइ पनि गाउँमा गहिरो छ।

तर, रामेछापको विकट उमाकुण्ड गाउँपालिकामा फरक दृश्य देखियाे । वाग्मती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापा मगर जब उमाकुण्डका दुर्गम बस्तीका वडा नम्बर ५, ४, ३ र २ सम्म पुग्नुभयाे धेरै स्थानीयले पत्याउनै सकेनन्- ‘साँच्चै मन्त्री गाउँमा आएका हुन् त ?’

कच्ची र जोखिमपूर्ण उकालो ओरालो भएकाे बाटाे, कमजोर पूर्वाधार र राज्यको न्यून उपस्थिति झेलिरहेका ती गाउँमा मन्त्री पुगेपछि स्थानीयका अनुहारमा उत्साह मात्र देखिएन, धेरैको मनमा वर्षौँपछि राज्य आफ्नै आँगनमा आएको अनुभूति जाग्यो। कतिपयले त जीवनमै पहिलो पटक मन्त्री आफ्नै गाउँमा देखेको सुनाए। स्थानीयको एउटै प्रतिक्रिया थियो-‘गाउँमा धेरैपछि मन्त्री देखियो ।’

मन्त्री थापाले गाउँ पुगेर केवल औपचारिक कार्यक्रम गर्नुभएन। उहाँले नागरिकका घर-आँगनमै पुगेर समस्या सुन्नुभयो। स्वास्थ्य चौकीको अवस्था बुझ्नुभयो। औषधिको अभाव, जनशक्तिको समस्या, सडकको कठिनाइ, खानेपानीको समस्या, विद्यालयको अवस्था र सञ्चार पहुँचसम्मका विषयमा स्थानीयसँग खुला संवाद गर्नुभयो।

उहाँले राजनीतिक दलका स्थानीय प्रतिनिधिसँग पनि सुझाव लिनुभयो। विकास निर्माणका योजनाको निरीक्षण गर्नुभयो। निर्माणाधीन योजनास्थलमै पुगेर कामदारहरूसँग कुराकानी गर्नुभयो।

कतिपय योजना अधुरा र सुस्त देखिएपछि सम्बन्धित सरोकारवालालाई ठाउँकै ठाउँ निर्देशन दिनुभयो। कतै काम किन रोकियो ? कतै गुणस्तर किन कमजोर छ ? कतै बजेट भएर पनि काम किन भएन ? यस्ता प्रश्न उहाँले प्रत्यक्ष रूपमा उठाउनुभयो।

स्थानीयका अनुसार यसअघि धेरै योजना कागजमा बने, बजेट छुट्याइए, तर वास्तविक आवश्यकता कसैले बुझेन। गाउँमा बसेर नागरिकले भोगिरहेको पीडा सुन्ने प्रयास कमै भयो।

त्यही अनुभवका बीच मन्त्री थापाको गाउँ–गाउँको यात्रा स्थानीयका लागि केवल सरकारी भ्रमण रहेन, त्यो भरोसाको क्षण बन्यो।

मन्त्री थापाले पनि राजधानी वा प्रदेश मुख्यालयमा बसेर बनाइएका योजना व्यवहारमा सफल नहुने स्पष्ट धारणा राख्नुभयो। ‘कार्यक्रम बनाउनु अघि मन्त्री र सचिवहरू स्याम्पल सर्वेकै लागि भए पनि गाउँ जानुपर्छ,’ उहाँले भन्नुभयो।

उहाँका अनुसार कागजका प्रतिवेदनले गाउँको वास्तविकता देखाउन सक्दैनन्। दुर्गम गाउँ घुमेपछि मात्रै आफूले योजना निर्माणका लागि धेरै नयाँ ज्ञान हासिल गरेको अनुभव भएको उहाँले सुनाउनुभयो। ‘स्थानीय आवश्यकताअनुसार योजना बन्नुपर्छ, गाउँमा नपुगी बनाइएका धेरै योजना कार्यान्वयनमै समस्या हुन्छ,’ उहाँको भनाइ थियो।

राजनीतिप्रति वितृष्णा बढिरहेका बेला मन्त्री थापाको यो शैलीलाई धेरैले ‘जनप्रतिनिधि कस्तो हुनुपर्छ भन्ने उदाहरण’ का रूपमा लिएका छन्। आज धेरै नेता सामाजिक सञ्जाल, भाषण र उद्घाटनमै सीमित भएको आरोप लागिरहेका बेला दुर्गम गाउँमा पुगेर नागरिकसँगै हिँड्ने, छलफल गर्ने, उनीहरूको पीडा सुन्ने र समाधान खोज्ने प्रयासले फरक सन्देश दिएको छ।

उमाकुण्डका नागरिकका लागि यो भ्रमण एउटा प्रशासनिक कार्यक्रम मात्र थिएन। उनीहरूले महसुस गरे-राज्य अझै टाढा छैन, नागरिकको ढोकासम्म पुग्न सक्छ। सायद त्यसैले मन्त्री थापा फर्किएपछि पनि गाउँमा एउटै चर्चा चलिरहेको छ- ‘जनप्रतिनिधि त यस्तै पो हुनुपर्छ ।’

मन्त्री मगर पछिल्लो समय वाग्मती प्रदेशका दुर्गम क्षेत्रका नागरिकका स्वास्थ्य समस्या बुझ्न सक्रिय रूपमा गाउँ–गाउँ पुग्नुभएको छ। यस अघि उहाँ धादिङ, सिन्धुली लगायतका जिल्लका दुर्गम बस्तीमा नागरिकका समस्या बुझ्न पुग्नु भएकाे थियाे ।

प्रदेश सरकारका स्वास्थ्य मन्त्री मगरले दुर्गम बस्तीका नागरिकसँग प्रत्यक्ष संवाद गर्दै स्वास्थ्य सेवाको अवस्था, औषधि अभाव, जनशक्तिको समस्या तथा पूर्वाधारका चुनौतीबारे जानकारी लिइरहनुभएको छ। विशेषगरी ग्रामीण तथा विकट क्षेत्रमा स्वास्थ्य सेवामा पहुँच अभाव रहेको गुनासो बढिरहेका बेला मन्त्री मगरले स्थलगत अनुगमनलाई तीव्रता दिनुभएको हो। उहाँले स्थानीय स्वास्थ्य संस्थाको निरीक्षण गर्दै सेवा प्रवाह प्रभावकारी बनाउन सम्बन्धित निकायलाई निर्देशनसमेत दिँदै आउनुभएको छ।

दुर्गम क्षेत्रमा पुगेर नागरिकको समस्या प्रत्यक्ष सुन्न थालेपछि स्थानीयवासीले पनि राज्य आफ्नै बीचमा आएको अनुभूति गरेको बताएका छन्। स्वास्थ्य सेवा सहज, पहुँचयोग्य र गुणस्तरीय बनाउने उद्देश्यसहित प्रदेश सरकारले काम गरिरहेको मन्त्री मगरको भनाइ छ।

उहाँले स्वास्थ्य सेवा केवल सहर केन्द्रित हुन नहुने उल्लेख गर्दै दुर्गमका नागरिकले पनि समान अधिकार र सेवा पाउनुपर्नेमा जोड दिनुभएको छ। स्थानीय तहका जनप्रतिनिधि तथा स्वास्थ्यकर्मीहरूले मन्त्री मगरको सक्रियतालाई सकारात्मक रूपमा लिँदै यसले दुर्गम क्षेत्रका समस्या समाधानमा सहयोग पुग्ने अपेक्षा व्यक्त गरेका छन्।