जनता टाइम्स

६ जेष्ठ २०८३, बुधबार १३:३८

रामेछाप नगरपालिका ‘पूर्ण खोप सुनिश्चितता नगरपालिका’ घोषणा, स्वस्थ नगर निर्माणको सामूहिक प्रतिबद्धता


रामेछाप, जेठ ६ । रामेछाप नगरपालिका लाई ‘पूर्ण खोप सुनिश्चितता नगरपालिका’ घोषणा गरिएको छ।

नगरपालिकामा आयोजित कार्यक्रममा पूर्ण खोप सुनिश्चितताको घोषणा गर्दै स्वस्थ, सुरक्षित र समुन्नत नगर निर्माणका लागि सामूहिक प्रतिबद्धता व्यक्त गरिएको हो।

कार्यक्रमको अध्यक्षता पालिका खोप समन्वय समितिका अध्यक्ष एवं नगर प्रमुख लबश्री न्यौपाने ले गर्नुभएको थियो भने प्रमुख अतिथिका रूपमा जिल्ला खोप समन्वय समितिका अध्यक्ष एवं जिल्ला समन्वय प्रमुख चिना खड्का कार्की सहभागी हुनुभएको थियो।

कार्यक्रममा जनस्वास्थ्य कार्यालयका प्रमुख एवं जिल्ला खोप समन्वय समितिका सचिव विभु कुमार झा र प्रमुख अतिथि कार्कीले संयुक्त रूपमा पूर्ण खोप सुनिश्चितताको प्रमाणपत्र नगरपालिकालाई हस्तान्तरण गर्नुभएको थियो।

खोप कार्यक्रमलाई प्रभावकारी बनाउन प्रत्यक्ष योगदान पुर्‍याउने स्वास्थ्यकर्मी तथा कर्मचारीहरूलाई सम्मानपत्र प्रदान गरिएको थियो।

कार्यक्रममा पालिका खोप समन्वय समितिका पदाधिकारी, स्वास्थ्यकर्मी, समाजसेवी, सामुदायिक स्वास्थ्य स्वयंसेविका, सञ्चारकर्मी तथा विभिन्न सरोकारवालाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

पूर्ण खोप सुनिश्चितता तथा यसको दिगोपन कायम राख्ने प्रतिबद्धतासहित सहभागीहरूले हस्ताक्षर गर्दै स्वस्थ र सुरक्षित रामेछाप नगर निर्माणको साझा संकल्प व्यक्त गरेका छन्।