जनता टाइम्स

८ जेष्ठ २०८३, शुक्रबार ०७:०४

प्रधानमन्त्री उपस्थित हुनु पर्ने माग राखि संसद अवरुद्ध भइरहेका बेला रविसँग रास्वपा सांसदहरूको सामूहिक छलफल गर्ने


काठमाडौं, जेठ ८। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूले  पार्टी सभापति रवि लामिछानेसँग सामूहिक भेटघाट तथा छलफल  गर्ने भएका छन्।

संसद अवरोध, समसामयिक राजनीतिक अवस्था र आगामी बजेटलाई केन्द्रमा राखेर प्रदेशगत रूपमा छलफलको तालिका बनाइएको पार्टीले जनाएको छ । रास्वपा प्रवक्ता मनिष झाका अनुसार सांसदहरूबाट प्राप्त सुझाव, गुनासा र क्षेत्रगत मुद्दाका आधारमा सभापति लामिछानेले प्रत्यक्ष छलफल गर्ने कार्यक्रम तय गरिएको हो ।

सोही क्रममा शुक्रबार कोशी र मधेश प्रदेशका सांसदहरूसँग छलफल हुने भएकाे छ।  कोशी प्रदेशका सांसदहरूसँग बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म तथा मधेश प्रदेशका सांसदहरूसँग दिउँसो साढे १ बजेदेखि साढे ३ बजेसम्म छलफलको कार्यक्रम राखिएको छ ।

विपक्षी दलहरूले प्रधानमन्त्री संसदमा उपस्थित हुनुपर्ने मागसहित लगातार प्रतिनिधिसभा बैठक अवरुद्ध गरिरहेका बेला रास्वपाले आन्तरिक छलफललाई तीव्र बनाएको हो । पछिल्लो राजनीतिक परिस्थिति, संसदको गतिरोध तथा पार्टीको रणनीतिबारे सांसदहरूबीच धारणा आदानप्रदान हुने जनाइएको छ ।

त्यस्तै आगामी आर्थिक वर्षको बजेट सार्वजनिक हुनुअघि हुने यस छलफलमा सांसदहरूले आफ्ना निर्वाचन क्षेत्रका समस्या, विकास आयोजना, जनचासोका विषय तथा बजेट प्राथमिकताबारे पनि सभापतिलाई जानकारी गराउने कार्यक्रम रहेको बताइएको छ ।