जनता टाइम्स

८ जेष्ठ २०८३, शुक्रबार १९:१४

भान्सा नै पहिलो औषधालय : रामेछापका गृहिणीलाई स्वस्थ जीवनको लागि आयुर्वेदिक चिकित्सालयको नयाँ सन्देश


रामेछाप, जेठ ८ । हतार–हतारमा पकाइने खाना र अव्यवस्थित भान्साले परिवारको स्वास्थ्य बिगारिरहेको यथार्थबीच आयुर्वेद तथा वैकल्पिक चिकित्सालय रामेछापले गृहणीहरूलाई ‘भान्सा नै पहिलो औषधालय हो’ भन्ने सन्देशसहित रचनात्मक अभियान सुरु गरेको छ ।

परिवारको स्वास्थ्य अस्पतालबाट होइन, भान्साबाट सुरु हुन्छ भन्ने चेतना फैलाउने उद्देश्यले चिकित्सालयले ‘भान्साघर आयुर्वेद औषधालय’ कार्यक्रम सञ्चालन गरेको हो । कार्यक्रममा सहभागी गृहणीहरूलाई भान्सालाई कसरी औषधालयजस्तै सुरक्षित, स्वच्छ र स्वास्थ्यवर्द्धक बनाउन सकिन्छ भन्नेबारे व्यवहारिक जानकारी दिइएको थियो ।

चिकित्सालयका प्रमुख दीपक कार्कीले स्वस्थ समाज निर्माणको सुरुवात घरको भान्साबाट हुने भएकाले कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो । उहाँले हरेक घरमा पकाइने खाना नै औषधीजस्तै बन्न सक्ने उल्लेख गर्दै भान्साको सानो सुधारले ठूलो स्वास्थ्य परिवर्तन ल्याउन सक्ने धारणा राख्नुभयो ।

खाँडादेवी गाउँपालिका–४ माडीमुहानमा आयोजित कार्यक्रममा चिकित्सालयका डाक्टर सविता भण्डारीले भान्सालाई घरको सबैभन्दा पवित्र स्थानको रूपमा व्याख्या गर्दै खाना पकाउने ठाउँ मात्र होइन, खाना पकाउने व्यक्तिको सोच र मनसमेत स्वच्छ हुनुपर्नेमा जोड दिनुभयो । उहाँले दैनिक प्रयोग हुने बेसार, ज्वानो, मेथी, अदुवा, लसुनजस्ता मसलाले शरीरमा गर्ने प्रभावबारे गृहणीहरूलाई जानकारी गराउनुभयो ।

कार्यक्रममा डाक्टर अरुण टेर्राले भान्सामा प्रयोग हुने भाँडा, मसला राख्ने तरिका, खानेकुराको भण्डारण र पकाउने शैलीले प्रत्यक्ष रूपमा स्वास्थ्यमा प्रभाव पार्ने बताउनुभयो । राम्रो खाना पनि सही तरिकाले नबनाउँदा शरीरलाई हानि गर्न सक्ने उहाँको भनाइ थियो ।

उहाँले प्लास्टिकका असुरक्षित सामग्रीको प्रयोग घटाएर सुरक्षित भाँडा र प्राकृतिक सामग्री प्रयोग गर्न आग्रह गर्नुभयो । “स्वस्थ भान्साले स्वस्थ परिवार बनाउँछ, स्वस्थ परिवारले नै स्वस्थ समाज निर्माण गर्छ,” उहाँले भन्नुभयो ।

चिकित्सालयका अध्यक्ष नवराज पथिकको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडाध्यक्ष कृष्णप्रसाद पौडेल, महिला स्वास्थ्य स्वयंसेविका, आमा समूहका महिला तथा स्थानीय गृहणीहरूको सहभागिता रहेको थियो ।

कार्यक्रमको अन्त्यमा सहभागी महिलाहरूलाई प्लास्टिकको झोलाको विकल्पका रूपमा बजार जाँदा प्रयोग गर्न मिल्ने कपडाकाे झोला तथा भान्सामा मसला सुरक्षित राख्न प्रयोग हुने बट्टा वितरण गरिएको थियो ।

कार्यक्रममा सहभागी धेरै महिलाले आफूहरूले दैनिक प्रयोग गर्दै आएका केही बानीले परिवारको स्वास्थ्यमा नकारात्मक असर गरिरहेको महसुस भएको प्रतिक्रिया दिनुभएकाे थियाे । महिलाहरुले अबदेखि भान्सालाई अझ सफा, व्यवस्थित र स्वास्थ्यअनुकूल बनाउने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयाे ।

गाउँघरका सामान्य भान्साबाटै स्वास्थ्य क्रान्ति सुरु गर्न सकिन्छ भन्ने सन्देश दिएको यो कार्यक्रमले स्थानीय महिलामा नयाँ उत्साह र चेतना थपेको सहभागीहरूले बताएका छन् ।