काठमाडौं, जेठ ९। पूर्वराष्ट्रपति विद्या देवी भण्डारीले नेपालको लोकतान्त्रिक आन्दोलन र वैचारिक राजनीतिमा जननेता मदन भण्डारीको योगदान ऐतिहासिक र महत्वपूर्ण रहेको बताउनुभएकाे छ ।
‘मिडियामा मदन भण्डारी’ पुस्तक माथिको युवा केन्द्रित विमर्श कार्यक्रममा बोल्दै उहाँले मदन भण्डारीका विचार, अभिव्यक्ति र राजनीतिक दृष्टिकोण आजको समयमा पनि उत्तिकै सान्दर्भिक रहेको बताउनुभयाे । उहाँले उक्त पुस्तक केवल एउटा कृति मात्र नभई नेपालको लोकतान्त्रिक तथा वामपन्थी आन्दोलनको विकासक्रम, वैचारिक रूपान्तरण र राजनीतिक यात्रालाई उजागर गर्ने महत्वपूर्ण दस्तावेजका रूपमा रहेको धारणा राख्नुभयाे ।
पूर्वराष्ट्रपति भण्डारीले २०४६ सालपछिको सङ्क्रमणकालीन राजनीतिक परिस्थितिमा मदन भण्डारीले व्यक्त गरेका विचार र सञ्चारकर्मीसँग गरेका संवादहरू अहिले पनि राष्ट्रिय बहसका केन्द्रमा रहेको विषयसँग मेल खाने बताउनुभयाे । ‘लोकतन्त्रप्रतिको आस्था, राजनीतिक नैतिकता, सुशासन, सामाजिक न्याय तथा राष्ट्रिय एकताका प्रश्नहरू अहिले पनि राष्ट्रिय बहसका प्रमुख विषय बनेका छन्, जननेता मदन भण्डारीका विचारहरूको गम्भीर अध्ययन र समयानुकूल प्रयोग आवश्यक छ,’ उहाँले भन्नुभयाे।
विश्व समुदाय र नेपाल दुवैले अहिले जटिल तथा बहुआयामिक चुनौती सामना गरिरहेको उल्लेख गर्दै उहाँले लोकतन्त्रप्रतिको विश्वास, सार्वजनिक उत्तरदायित्व, जवाफदेहिता र सुशासनका विषय पुनः गम्भीर बहसको केन्द्रमा पुगेको बताउनुभयाे। ‘यस्तो अवस्थामा जननेता मदन भण्डारीका विचारहरूको गम्भीर अध्ययन, व्यापक बहस तथा समयानुकूल तिनको थप विकास र प्रयोग गर्नु युवा पुस्ताको महत्वपूर्ण दायित्व हुन आउँछ,’ उहाँले भन्नुभयाे ।
पूर्वराष्ट्रपति भण्डारीले खुला राजनीतिक जीवन अपेक्षाकृत छोटो रहे पनि मदन भण्डारीको वैचारिक प्रभाव र राजनीतिक योगदान दीर्घकालीन तथा प्रभावशाली रहिरहेको बताउनुभयाे । ‘उहाँले देखाउनुभएको बाटो, स्थापित गर्नुभएको वैचारिक आधार तथा लोकतान्त्रिक संस्कृतिप्रतिको अटल प्रतिबद्धता नेपाली राजनीतिक इतिहासका अमूल्य सम्पत्ति हुन्,’ उहाँले भन्नुभयाे।













प्रतिक्रिया दिनुहोस्