जनता टाइम्स

११ जेष्ठ २०८३, सोमबार २२:११

राजन दाहाललाई जिल्ला इञ्चार्ज तोकेपछि नेकपा सिन्धुलीका नेता–कार्यकर्ताको सामूहिक राजीनामा


काठमाडौं, जेठ ११। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सिन्धुलीका केही नेता तथा कार्यकर्ताले पार्टीभित्र विधि, प्रक्रिया र संस्थागत अभ्यास कमजोर बनाइएको आरोप लगाउँदै सामूहिक रूपमा पार्टी परित्यागको घोषणा गर्नुभएको छ ।

पार्टी केन्द्रीय नेतृत्वले सिन्धुली जिल्ला इञ्चार्जको जिम्मेवारी राजन दाहाललाई तोकेपछि असन्तुष्टि जनाउँदै उहाँहरूले सोमबार संयुक्त विज्ञप्तिमार्फत राजीनामाको घोषणा गर्नुभएको हो ।

विज्ञप्तिमा साविक नेकपा सिन्धुलीमा लामो समयदेखि संस्थागत अभ्यास कमजोर बनाउने, पार्टीलाई विधिसम्मत रूपमा सञ्चालन गर्न खोज्नेहरूविरुद्ध समानान्तर कमिटी निर्माण गर्ने तथा विभाजनकारी गतिविधिलाई संरक्षण दिने काम भएको आरोप लगाइएको छ ।

इमानदार, अनुशासित तथा विधिको पक्षमा उभिने नेता–कार्यकर्तालाई निरन्तर अपहेलना गरिएको तथा आन्दोलनविरोधी र भ्रष्ट प्रवृत्तिलाई पार्टी नेतृत्वबाटै संरक्षण र प्रश्रय दिइएको आरोपसमेत उहाँहरूले लगाउनुभएको छ ।

पालिका र जिल्ला तहबाट आएका निर्णय तथा सुझावलाई बेवास्ता गर्दै केन्द्रीय हस्तक्षेपमार्फत जबर्जस्ती निर्णय थोपर्ने कार्य पटक-पटक भएको विज्ञप्तिमा उल्लेख छ । पार्टी सुधार, संस्थागत अभ्यास र स्वस्थ आन्तरिक लोकतन्त्रको माग बारम्बार उठाउँदा पनि नेतृत्वले त्यसलाई गम्भीर रूपमा नलिएको उहाँहरूको भनाइ छ ।

‘सही कुरा उठाउने कार्यकर्तालाई अपमानित, निराश र निष्क्रिय बनाउने वातावरण सिर्जना गरियो,’ विज्ञप्तिमा भनिएको छ, ‘यस परिस्थितिमा पार्टीभित्र रहेर इमानदारीपूर्वक योगदान दिन सम्भव नभएको निष्कर्षमा पुग्दै हामी सामूहिक रूपमा नेपाली कम्युनिष्ट पार्टी परित्याग गर्ने घोषणा गर्दछौँ ।’

उहाँहरूले जनताको परिवर्तन, सामाजिक न्याय र प्रगतिशील राजनीतिक अभ्यासप्रतिको प्रतिबद्धता भने यथावत् रहने पनि स्पष्ट पार्नुभएको छ ।

पार्टी परित्यागको घोषणा गर्नेहरूमा प्रदेश सदस्य केशव लोहनी भीषण, दुधराज पुलामी मगर, कृष्णराज दाहाल हुनुहुन्छ । त्यस्तै जिल्ला सदस्यहरु शक्तिमान घिसिङ, चन्द्रबहादुर स्याइबा, प्रेम वर्मा, कल्याण बराल, मानबहादुर सारु तथा कान्छामान मोक्तान लगायत रहनुभएको छ ।