काठमाडौं, जेठ १२ । प्रतिनिधिसभा बैठकमा देखिएको ‘हुकुमी शैली’प्रति नेपाली कांग्रेसले आपत्ति जनाएको छ ।
प्रतिनिधिसभाको बैठकमा कांग्रेस सांसद निष्कल राईले सभामुखको निर्देशनबिनै मर्यादा पालकहरूले कांग्रेस सांसद गीताकुमारी सेन्दाङलाई बैठक कक्षबाट बाहिर निकालिएको भन्दै विरोध जनाउनुभएको हो ।
प्रतिनिधिसभा बैठकको फोटो खिचेको आरोपमा मर्यादा पालकहरूले सांसदलाई बैठक कक्षबाट बाहिर निकालिएको भन्दै उहाँले नियमापत्ति जनाउनुभयो ।
सांसद राईले सभामुखले हलमा स्पष्ट रूपमा सुनिने गरी निर्देशन नदिएसम्म मर्यादापालकले सांसदलाई छुनसमेत नमिल्ने बताउनुभयो । ‘सभामुखले त्यस्तो आदेश कानेखुशी गरेर दिने होइन, संसद्मा सबैलाई जानकारी गराएर दिनुपर्छ, कानेखुशीबाट सदन अगाडि बढ्न सक्दैन’, उहाँले भन्नुभयो ।
उहाँले नियमापत्ति जनाएपछि सभामुख देवराज घिमिरेले संसद् बैठकको फोटो खिच्न नमिल्ने व्यवस्था रहेको स्पष्ट पार्नुभयो । सभामुखले सांसद सेन्दाङले मोबाइलबाट फोटो खिच्नुभएको हो वा होइन भन्ने बुझ्नका लागि मात्रै मर्यादापालकलाई आग्रह गरिएको बताउनुभयो ।
उहाँलाई बैठकबाट बाहिर ननिकालिएको दाबी गर्दै सभामुख घिमिरेले विषयलाई तोडमोड गरेर प्रस्तुत नगर्न पनि आग्रह गर्नुभयो ।













प्रतिक्रिया दिनुहोस्