जनता टाइम्स

१३ जेष्ठ २०८३, बुधबार १९:४८

मानव अधिकार आयाेगकाे प्रतिवेदनमा आशिका तामाङकाे स्पष्टिकरण : मैले अन्यायविरुद्ध मात्रै बोलेकी हुँ, हिंसा भड्काएको छैन


काठमाडौं, जेठ १३ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद आशिका तामाङले राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदनमा आफ्नो नाम उल्लेख गरिएको विषयप्रति गम्भीर आपत्ति जनाउनु भएकाे छ ।

सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै उहाँले आफूले कहिल्यै हिंसा, आगजनी वा तोडफोडलाई प्रोत्साहन नगरेको दाबी गर्नुभएकाे छ । ‘मैले कसैलाई हिंसा गर्न उक्साएको छैन, आगजनी गरेको छैन, तोडफोड गरेको छैन र निर्दोषमाथि गोली चलाएको पनि छैन, मैले केवल अन्यायविरुद्ध बोलेको हुँ’ उहाँले सामाजिक सञ्जालमा लेख्नु भएकाे छ ।

उहाँले आफू विगत लामो समयदेखि भ्रष्टाचार, कुशासन र अन्यायविरुद्ध आवाज उठाउँदै आएको उल्लेख गर्दै जर्मनीबाट नेपाल फर्किएपछि पनि सडकदेखि सामाजिक सञ्जालसम्म निरन्तर जनताको पक्षमा बोल्दै आएको बताउनुभएको छ। आयोगले आफ्नो अभिव्यक्तिलाई मात्र हेरेर नाम उल्लेख गरेको तर आन्दोलनका क्रममा अस्पताल–अस्पताल पुगेर घाइतेहरूको अवस्था बुझेको, पीडित परिवारसँग भेटेको र मानवीय सहयोग गरेको पक्षलाई बेवास्ता गरेको उहाँको गुनासो छ।

उहाँले विगतमा वर्तमान सरकारकै पालामा आफू १८ दिन हिरासतमा बस्नुपरेको प्रसंगसमेत स्मरण गर्दै त्यसबेला आफ्नो परिवारले भोगेको पीडा आयोगले नदेखेको आरोप लगाउनुभएको छ। ‘त्यो बेला मेरी छोरी जम्मा तीन वर्षकी दुधे बालिका थिइन्, त्यो बेला मेरो पीडा र परिवारमाथिको अन्याय आयोगले किन देखेन ?’ भन्दै उहाँले प्रश्न गर्नुभएको छ।

सांसद तामाङले यदि अनुसन्धान गर्ने हो भने निष्पक्ष ढंगले गर्नुपर्ने बताउँदै आफ्नो कुन अभिव्यक्ति, गतिविधि वा भूमिकाले हिंसा भड्काएको भन्ने तथ्य सार्वजनिक गर्न सम्बन्धित निकायसँग माग गर्नुभएको छ।

उहाँले सत्य दबाएर नदबिने र जनताको पक्षमा उठेको आवाज रोक्न नसकिने उल्लेख गर्दै भगवान पशुपतिनाथले सत्य र न्यायको रक्षा गरून् भन्ने कामना समेत व्यक्त गर्नुभएको छ।