जनता टाइम्स

१४ जेष्ठ २०८३, बिहीबार १८:००

गगनले बढाए पदाधिकारी र केन्द्रीय समितिको आकार : कांग्रेसमा अव १७ पदाधिकारी र २४० सदस्यीय केन्द्रीय समिति


काठमाडौं, जेठ १४ । गगन थापा नेतृत्वमा आएपछि नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको आकार बढाउने गरी विधान संशोधन गरेको छ । गत पुस २७ देखि ३० गतेसम्म काठमाडौंमा सम्पन्न विशेष महाधिवेशनबाट केन्द्रीय कार्यसमिति ८ जना पदेन सदस्यसहित २४० सदस्यीय बनाउने गरी विधान पारित गरिएको हो ।

यसअघि २०७८ मङ्सिरमा भएको कांग्रेसको १४औँ महाधिवेशनबाट पारित विधानमा १४ पदाधिकारीसहित १६७ सदस्यीय केन्द्रीय समिति बनाउने व्यवस्था गरिएको थियो । त्यसैअनुसार उक्त महाधिवेशनबाट १३४ निर्वाचित र ३३ मनोनीत गरेर १६७ सदस्यीय केन्द्रीय कार्यसमिति बनाइएको थियो।

१४औं महाधिवेशनबाट पारित सो विधानलाई विशेष महाधिवेशनले संशोधन गरेर २४० सदस्यीय बनाएको हो । विशेष महाधिवेशनले पारित गरेको र त्यसपछि निर्वाचन आयोगमा पेस भई आयोगबाट समेत प्रमाणित भइसकेको विधानमा निर्वाचित, मनोनीत र पदेन सदस्यहरू गरी अब कांग्रेस केन्द्रीय कार्यसमिति कुल २४० सदस्यीय रहने व्यवस्था गरिएको छ ।

विधानको व्यवस्थाअनुसार निर्वाचित हुने पदाधिकारीमा सभापति १, उपसभापति २, महामन्त्री २ र सहमहामन्त्री ८ गरी १३ जना रहनेछन । यस्तै ८ सहमहामन्त्रीको निर्वाचन अनिवार्य रूपमा महिला, आदिवासी जनजाति, दलित, मधेशी, खसआर्य, थारू, मुस्लिम र पिछडिएको क्षेत्रबाट हुनुपर्ने व्यवस्था छ ।

खुला केन्द्रीय सदस्यमा ३५ र महिला खुला सदस्यमा ९ जना निर्वाचित हुने व्यवस्था रहेको छ । प्रत्येक प्रदेशबाट ३–३ जनाका दरले ७ प्रदेशबाट २१ जना निर्वाचित गरिनेछ । यसमा प्रत्येक प्रदेशबाट कम्तीमा १ जना महिला अनिवार्य निर्वाचित हुनुपर्ने व्यवस्था विधानमा छ।

यस्तै समावेशी क्लस्टरबाट ५४ केन्द्रीय सदस्य निर्वाचित गर्ने व्यवस्था विधानमा गरिएको छ । समावेशी क्लस्टरअन्तर्गत आदिवासी जनजाति १५, खसआर्य १३, दलित १०, मधेशी ९, थारू ४, मुस्लिम ३ र पिछडिएको क्षेत्रबाट १ सदस्य हुने व्यवस्था छ। क्लस्टरअनुसार छुट्याइएको कोटामा पनि महिलाका लागि आरक्षणको ब्यवस्था गरिएको छ । जसअनुसार आदिवासी जनजाति १५ जनामा ७ महिला, खसआर्य १३ जनामा ६ महिला, दलित १० जनामा ४ महिला र १ मधेशी दलित, मधेशी ९ जनामा ४ महिला, थारू ४ जनामा २ महिला र मुस्लिम ३ जनामा १ महिला हुनुपर्ने व्यवस्था छ ।

यसैगरी ३५ वर्षमुनिका युवा २१ जनालाई केन्द्रीय सदस्य बनाउने व्यवस्था गरिएको छ । त्यसमा प्रत्येक प्रदेशबाट २-२ जना गरी १४ जना र खुला ७ जना निर्वाचित गर्ने व्यवस्था छ। प्रत्येक प्रदेशबाट २ सदस्य निर्वाचित गर्दा १ महिला अनिवार्य गरिएको छ। यस्तै पेसागत/विषयगत क्षेत्रबाट ७ जना निर्वाचित गर्ने र त्यसमा २ जना महिला हुनुपर्ने व्यवस्था छ । यसैगरी, जनसम्पर्क समिति (विदेश) बाट ६ जना तथा अल्पसङ्ख्यक र अपाङ्गता भएकाहरूबाट २ जना निर्वाचित हुने व्यवस्था गरिएको छ ।

यस्तै बिशेष महाधिवेशनबाट पारित विधानमा सभापतिले ६१ जना केन्द्रीय सदस्य मनोनीत गर्न पाउने व्यवस्था राखिएको छ । ‘केन्द्रीय सभापतिले समावेशी सिद्धान्त र विभिन्न क्षेत्रको प्रतिनिधित्व सुनिश्चित गर्न ६१ जना सदस्य मनोनीत गर्नेछन,’ विधानमा लेखिएको छ । त्यसैगरी, विधानमा ८ जना पदेन केन्द्रीय सदस्य रहने व्यवस्था छ। प्रतिनिधिसभा संसदीय दलका नेता र सातवटै प्रदेशका कार्यसमिति सभापतिहरू पदेन सदस्य हुने व्यवस्था गरिएको छ ।

४ पदाधिकारी मनोनीतको व्यवस्था

२४० सदस्यीय केन्द्रीय कार्यसमितिमा १७ पदाधिकारी हुनेछन । तीमध्ये १३ जना निर्वाचित र ४ जना मनोनीत गर्ने व्यवस्था विधानमा राखिएको छ। सभापतिले निर्वाचित भएर आएका केन्द्रीय सदस्यहरूमध्येबाट ३ सहमहामन्त्री (एक महिलासहित) र १ कोषाध्यक्ष मनोनीत गरी केन्द्रीय कार्यसमितिबाट अनुमोदन गराउनुपर्ने व्यवस्था विधानमा राखिएको छ ।

कांग्रेसको १४औँ महाधिवेशनबाट १३४ सदस्य निर्वाचित र ३३ सदस्य सभापतिले मनोनीत गरी १६७ सदस्यीय केन्द्रीय समिति बनाउने व्यवस्था थियो । त्यसमा १४ पदाधिकारी रहने व्यवस्था थियो, जसमध्ये १३ पदाधिकारी निर्वाचित हुन्थे। सभापति, २ उपसभापति, २ महामन्त्री र ८ सहमहामन्त्री निर्वाचित हुने तथा कोषाध्यक्ष भने सभापतिले निर्वाचित केन्द्रीय सदस्यहरूमध्येबाट मनोनीत गरी केन्द्रीय समितिबाट अनुमोदन गराउने व्यवस्था थियो।

त्यस्तै, केन्द्रीय सदस्यहरू खुलातर्फ ३५ जना, प्रदेशतर्फ (प्रत्येक प्रदेशबाट ३ जनाका दरले) २१ जना, दलित ९, महिला ९, आदिवासी जनजाति १५, मधेशी ९, खसआर्य १३, थारू ४, मुस्लिम ३, अपाङ्गता १, अल्पसङ्ख्यक १ र पिछडिएको क्षेत्रबाट १ जना निर्वाचित गर्ने व्यवस्था थियो। बाँकी ३३ जना भने सभापतिले मनोनीत गर्ने व्यवस्था रहेको थियो ।