काठमाडाैं, जेठ १५ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले गणतन्त्र दिवस २०८३ का अवसरमा शुभकामना व्यक्त गर्दै लोकतन्त्र स्थापना र पुनःस्थापनाका लागि जीवन उत्सर्ग गर्नुहुने सम्पूर्ण ज्ञात–अज्ञात शहीदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुभएको छ ।
सभापति थापाले जारी गर्नुभएको शुभकामना सन्देशमा नेपालमा भएका ऐतिहासिक जनआन्दोलनहरूमा असंख्य वीर सन्ततिले गौरवपूर्ण शहादत प्राप्त गरेको उल्लेख गर्दै उहाँहरूको योगदानकै कारण मुलुकमा लोकतान्त्रिक व्यवस्था स्थापित भएको बताउनुभएको छ ।
उहाँले नेपाली जनताको अभूतपूर्व त्याग, संघर्ष र बलिदानका कारण ऐतिहासिक जनआन्दोलन २०६२/६३ सफल भएको स्मरण गर्नुभएको छ । त्यसपछि नेपाली कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा संविधानसभाको निर्वाचन सम्पन्न भएको र वि.सं. २०६५ जेठ १५ गते संविधानसभाको पहिलो बैठकबाट नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गर्दै राजतन्त्रको अन्त्य गरिएको उल्लेख गर्नुभएको छ ।
सभापति थापाले नेपालको संविधानको संरक्षण तथा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको संस्थागत सुदृढीकरणबाट मात्रै नेपाललाई सभ्य, समुन्नत, सुखी र समृद्ध राष्ट्रका रूपमा रूपान्तरण गर्न सकिने बताउनुभएको छ । उहाँले नेपाली जनताको त्याग, बलिदान र समर्पणबाट प्राप्त ऐतिहासिक उपलब्धिको रक्षा र सुदृढीकरणका लागि सबैले आ–आफ्नो स्थानबाट जिम्मेवारीपूर्ण भूमिका निर्वाह गर्नुपर्ने आवश्यकता औँल्याउनुभएको छ । ‘नेपालको संविधानको संरक्षण तथा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको संस्थागत सुदृढीकरणबाट मात्रै नेपाललाई सभ्य, समुन्नत, सुखी र समृद्ध राष्ट्रका रूपमा रूपान्तरण गर्न सकिन्छ, नेपाली जनताको त्याग, बलिदान र समर्पणबाट प्राप्त यस ऐतिहासिक उपलब्धिको रक्षा र सुदृढीकरणका लागि सबैले आ–आफ्नो स्थानबाट जिम्मेवारीपूर्ण भूमिका निर्वाह गर्नु आजको आवश्यकता हो’, उहाँले लेख्नु भएकाे छ ।
उहाँले लोकतान्त्रिक मूल्य, मान्यता, संस्कार र संस्कृतिमा आधारित न्यायपूर्ण तथा समतामूलक समाज निर्माण गर्दै मुलुकलाई आर्थिक समृद्धितर्फ अघि बढाउने साझा यात्रामा गणतन्त्र दिवसले सम्पूर्ण नेपालीमा नयाँ उत्साह र प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गर्नुभएको छ । ‘मुलुकलाई आर्थिक समृद्धितर्फ अघि बढाउँदै लोकतान्त्रिक मूल्य, मान्यता, संस्कार र संस्कृतिमा आधारित न्यायपूर्ण तथा समतामूलक समाज निर्माण गर्ने साझा यात्रामा यो गणतन्त्र दिवसले सम्पूर्ण नेपालीमा नयाँ उत्साह र प्रेरणा प्रदान गर्नेछ भन्ने विश्वास लिएको छु’, थापाले भन्नुभएकाे छ ।













प्रतिक्रिया दिनुहोस्