जनता टाइम्स

१५ जेष्ठ २०८३, शुक्रबार १६:४१

नेपाललाई सम्पत्ति शुद्धीकरणको ग्रे लिस्टबाट बाहिर निकाल्ने सरकारकाे प्रतिबद्धता


काठमाडौं, जेठ १५ गते । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले नेपाललाई सम्पत्ति शुद्धीकरणसम्बन्धी ‘ग्रे लिस्ट’बाट यथाशीघ्र बाहिर निकाल्ने प्रतिबद्धता जनाउनुभएको छ ।

संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट सार्वजनिक गर्दै उहाँले सरकारले वित्तीय पारदर्शिता र सुशासनलाई उच्च प्राथमिकतामा राखेको बताउनुभयो ।

अर्थमन्त्री वाग्लेले ‘नेपाललाई सम्पत्ति शुद्धीकरण सम्बन्धी ग्रे लिष्टबाट यथासक्य छिटो बाहिर निकाल्नेछौँ’ भन्दै यसका लागि आवश्यक कानुनी, नीतिगत तथा संस्थागत सुधारलाई तीव्र रूपमा अघि बढाइने जानकारी दिनुभयो ।

उहाँले वित्तीय अपराध नियन्त्रण, अवैध कारोबार निगरानी तथा नियामक निकायहरूको क्षमता अभिवृद्धिमा सरकारले विशेष ध्यान दिने पनि उल्लेख गर्नुभयो ।

सरकारले अन्तर्राष्ट्रिय मापदण्डअनुसार वित्तीय प्रणालीलाई थप पारदर्शी, उत्तरदायी र विश्वसनीय बनाउने लक्ष्यसहित विभिन्न सुधार कार्यक्रम अघि सारेको उहाँले जानकारी दिनुभयाे ।