जनता टाइम्स

१५ जेष्ठ २०८३, शुक्रबार १७:१३

एक वर्षभित्र एक हजार किलोमिटर सडक र २७५ पुल निर्माण गर्ने सरकारको लक्ष्य


काठमाडौं, जेठ १५ गते । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आगामी एक वर्षभित्र एक हजार किलोमिटर सडक तथा २ सय ७५ वटा सडक पुल निर्माण गर्ने लक्ष्य सरकारले लिएको बताउनुभएको छ ।

संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तथा कार्यक्रम प्रस्तुत गर्दै उहाँले सडक पूर्वाधार विस्तारलाई सरकारको प्रमुख प्राथमिकतामध्ये एक बनाइएको जानकारी दिनुभयो ।

अर्थमन्त्री वाग्लेले देशभर सडक सञ्जाल विस्तार, यातायात पहुँच सुधार तथा आर्थिक गतिविधिलाई चलायमान बनाउन सडक र पुल निर्माणलाई तीव्रता दिइने बताउनुभयो ।

उहाँका अनुसार निर्माणाधीन रणनीतिक सडक तथा पुल आयोजनालाई समयमै सम्पन्न गर्न बजेट व्यवस्थापन गरिएको छ । ग्रामीण तथा दुर्गम क्षेत्रलाई सडक सञ्जालसँग जोड्ने योजनालाई समेत प्राथमिकतामा राखिएको उहाँले उल्लेख गर्नुभयो ।

सरकारले पूर्वाधार विकासलाई आर्थिक वृद्धि, रोजगारी सिर्जना तथा क्षेत्रीय सन्तुलित विकासको आधारका रूपमा अघि बढाएको जनाएको छ ।