जनता टाइम्स

१७ जेष्ठ २०८३, आईतवार ११:३६

कुशल भुर्तेलको विस्फोटक शतकमा चीनमाथि नेपालको २२१ रनको फराकिलो जित


काठमाडौं, जेठ १७ । एसियन गेम्स छनोट क्रिकेट प्रतियोगितामा नेपालले चीनलाई २२१ रनको विशाल अन्तरले पराजित गर्दै प्रभावशाली जित हासिल गरेको छ।

आइतबार सिंगापुरमा सम्पन्न खेलमा नेपालले प्रस्तुत गरेको ३१४ रनको कठिन लक्ष्य पछ्याएको चीन १९ ओभर २ बलमा सबै विकेट गुमाउँदै मात्र ९२ रनमा समेटिएको हो।

यसअघि टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा २ विकेट गुमाएर ३१३ रनको विशाल योगफल तयार गरेको थियो। नेपालको जितमा कुशल भुर्तेल नायक बने। उहाँले मात्र ४३ बलमा ५ चौका र १६ छक्काको मद्दतमा १२९ रनको विस्फोटक शतकीय इनिङ्स खेल्नुभयो।

नेपालका लागि कुशल मल्लले ८५ रनको आक्रामक पारी खेले भने कप्तान रोहित पौडेलले ६९ रनको योगदान दिए। शीर्ष क्रमका ब्याट्सम्यानको उत्कृष्ट प्रदर्शनका कारण नेपालले २० ओभरमा ३ सयभन्दा बढी रनको विशाल स्कोर खडा गर्न सफल भएको थियो।

जवाफी ब्याटिङमा उत्रिएको चीनका ब्याट्सम्यानहरू नेपाली बलरहरू सामु टिक्न सकेनन्। चीनका लागि झेङ सेन्जियानले सर्वाधिक ३१ रन बनाए भने जियानहाओ डुले १७ र तियान सेङुनले १२ रन जोडे। अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकको स्कोर बनाउन सकेनन्।

बलिङतर्फ नेपालका लागि कुशल मल्लले ३ विकेट लिएर अलराउण्ड प्रदर्शन गर्नुभयो। यस्तै सोमपाल कामी र सन्दीप लामिछानेले समान २–२ विकेट हात पारे । नन्दन यादवले १ विकेट लिए।

ब्याटिङ र बलिङ दुवै विभागमा उत्कृष्ट प्रदर्शन गरेको नेपालले प्रतियोगितामा आफ्नो दाबेदारी बलियो बनाएको छ। विशेषगरी कुशल भुर्तेलको आक्रामक शतक र बलरहरूको अनुशासित प्रदर्शन नेपालको जितका मुख्य आधार बने।