काठमाडौं, जेठ १७ । नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहले संसद्मा दिएको सीमा सम्बन्धी अभिव्यक्तिप्रति गम्भीर आपत्ति जनाउँदै तत्काल स्पष्टीकरण दिन माग गरेको छ।
कांग्रेसका मुख्यसचिव देवराज चालीसेद्वारा आज जारी प्रेस विज्ञप्तिमा प्रधानमन्त्रीले प्रतिनिधिसभाको रोष्ट्रमबाट ‘हामीले पनि धेरै ठाउँमा सीमा मिचेका छौँ’ भन्ने अभिव्यक्ति दिएको उल्लेख गर्दै त्यसलाई गैरजिम्मेवार, आपत्तिजनक र राष्ट्रहितविपरीतको भनाइको संज्ञा दिइएको छ।
विज्ञप्तिमा देशको कार्यकारी प्रमुखले कुनै ऐतिहासिक तथ्य र प्रमाणबिना संसद् जस्तो गरिमामय मञ्चमा राष्ट्रिय हित प्रतिकूल हुने अभिव्यक्ति दिनु अक्षम्य रहेको उल्लेख गरिएको छ। कांग्रेसले प्रधानमन्त्रीको भनाइले राष्ट्रिय स्वाभिमान, भौगोलिक अखण्डता र कूटनीतिक विश्वसनीयतामाथि नै गम्भीर प्रश्न उठाएको दाबी गरेको छ।
कांग्रेसले नेपालको संवैधानिक नक्सा, ऐतिहासिक तथ्य तथा राष्ट्रिय भावनाविपरीत प्रधानमन्त्रीबाट व्यक्त विचार आफूहरूलाई स्वीकार्य नभएको जनाएको छ। लिम्पियाधुरा, लिपुलेक र कालापानीसहित ३७२ वर्ग किलोमिटर नेपाली भूमिमाथिको अतिक्रमणको विषयलाई अन्य प्राविधिक सीमा विवादसँग एउटै रूपमा प्रस्तुत गर्नु गलत भएको कांग्रेसको ठहर छ।
विज्ञप्तिमा प्रधानमन्त्रीको अभिव्यक्तिले नेपालको स्थापित राष्ट्रिय अडान कमजोर बनाउने तथा दुई देशबीच कूटनीतिक माध्यमबाट सीमा समस्या समाधान गर्ने प्रयासमा नकारात्मक असर पार्ने उल्लेख गरिएको छ। कांग्रेसले यसलाई नेपालको दाबी कमजोर बनाउने ‘आत्मघाती कदम’ का रूपमा चित्रण गरेको छ।
त्यस्तै, प्रधानमन्त्रीले सीमा समस्याको सन्दर्भमा बेलायतसँग पनि कुरा भइरहेको दाबी गरेको विषयलाई कांग्रेसले थप आपत्तिजनक र हास्यास्पद भनेको छ। स्थापित कूटनीतिक संयन्त्र र संवाद प्रक्रियालाई बेवास्ता गर्दै यस्तो अभिव्यक्ति दिनुको आधार स्पष्ट गर्नुपर्ने माग कांग्रेसले गरेको छ।
‘देशको कार्यकारी प्रमुखले संसद्मा बोलेको प्रत्येक शब्दलाई राज्यको आधिकारिक दृष्टिकोणका रूपमा लिइन्छ,’ विज्ञप्तिमा भनिएको छ, ‘त्यसैले सीमा समस्याजस्तो संवेदनशील विषयमा आएको यो भनाइ सरकारको आधिकारिक धारणा हो, राष्ट्रिय स्वतन्त्र पार्टीको धारणा हो वा प्रधानमन्त्रीको व्यक्तिगत विचार हो भन्ने विषयमा स्पष्ट पारिनुपर्छ।’
कांग्रेसले प्रधानमन्त्री शाह र सरकारसँग संसद् तथा आम नेपाली जनतासमक्ष तत्काल स्पष्टीकरण दिन आग्रह गरेको छ।
विज्ञप्तिमा नेपाली कांग्रेस ऐतिहासिक तथ्य, सन्धि र प्रमाणका आधारमा राष्ट्रिय स्वाभिमान तथा राष्ट्रिय अखण्डताको रक्षा गर्दै सीमा समस्याको समाधान वार्ता र कूटनीतिक पहलबाट खोज्न सधैं प्रतिबद्ध रहेको उल्लेख गरिएको छ। छिमेकी मुलुकहरूसँगको ऐतिहासिक र बहुआयामिक सम्बन्धलाई सम्मान गर्दै आपसी समस्याको समाधान संवादमार्फत खोजिनुपर्ने कांग्रेसको धारणा छ।
प्रधानमन्त्रीबाट आएको भनिएको अभिव्यक्ति राष्ट्रहित र कूटनीतिक मर्यादाविपरीत रहेको दाबी गर्दै कांग्रेसले त्यसप्रति खेद व्यक्त गर्नुका साथै घोर भर्त्सना गरेको जनाएको छ।













प्रतिक्रिया दिनुहोस्