जनता टाइम्स

१८ जेष्ठ २०८३, सोमबार १५:२६

इस्टनबाजीको पराकाष्ठाले हुने क्षति हिजो देशले प्रधानमन्त्रीको अभिव्यक्तिबाट भोग्नुपर्‍यो : युवराज दुलाल


काठमाडौं, जेठ १८ ।  प्रतिनिधिसभामा नेपाली कम्युनिष्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालले प्रधानमन्त्री बालेन्द्र साहले नेपाल–भारत सीमा सम्बन्धमा संसदमा व्यक्त गर्नुभएको अभिव्यक्तिप्रति कडा आपत्ति जनाउँदै उक्त भनाइ तत्काल फिर्ता लिन माग गर्नुभएको छ।

सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै दुलालले प्रधानमन्त्रीको पद केवल जोसले नभई होस, अनुभव, ज्ञान र जिम्मेवारीका साथ सञ्चालन हुनुपर्ने बताउनुभयो। उहाँले प्रधानमन्त्रीको पछिल्लो अभिव्यक्तिले राष्ट्रहितमा गम्भीर क्षति पुगेको दाबी गर्नुभयो। ‘राष्ट्रको प्रमुख पद जोसको पद होइन, यो त होस, अनुभव, ज्ञान र जिम्मेवारीको पद हो,’ दुलालले भन्नुभयो, ‘इस्टनबाजीको पराकाष्ठाको क्षति हिजो देशले प्रधानमन्त्रीको अभिव्यक्तिबाट भोग्नुपर्‍यो।’

उहाँले सीमा क्षेत्रका नागरिकले वर्षौंदेखि भोगचलन गर्दै आएको खेतीयोग्य जमिनको विषयलाई नेपालका भूभागमा विदेशी सेनाले उपस्थिति जनाएको र परेड खेलेको अवस्थासँग तुलना गर्नु गम्भीर त्रुटि भएको बताउनुभयो। ‘सीमा क्षेत्रका नागरिकले खेती लगाएको भूमिसँग देशको भूमिमा विदेशी सेना परेड खेलेको कुरालाई तुलना गरेर प्रधानमन्त्रीले गम्भीर आत्मसमर्पण गर्नुभएको छ,’ उहाँले भन्नुभयाे ।

दुलालले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भारत भ्रमणमा रहेको प्रसंग उल्लेख गर्दै नेपालको राष्ट्रिय अडान कायम राखेर स्वदेश फर्किन आग्रहसमेत गर्नुभयो। ‘सत्तारूढ दलका सभापति भारत भ्रमणमा रहनुभएको छ, उहाँले देशको अडान कायम राखेर फर्किनुहोस्,’ दुलालले भन्नुभयो।

प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर संसदमा देखिएको विवाद तत्काल अन्त्य हुने अवस्था नरहेको संकेत गर्दै दुलालले प्रधानमन्त्रीले सदनमै उभिएर आफ्नो भनाइ फिर्ता लिनुपर्ने अडान दोहोर्‍याउनुभयो। ‘प्रधानमन्त्रीले आफ्नो गम्भीर गल्ती संसदमै उभिएर फिर्ता लिनुपर्छ,’ उहाँले भन्नुभयो, ‘त्यतिबेलासम्म संसद बैठक अघि बढ्दैन।’

प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्तिलाई लिएर प्रतिपक्षी दलहरूले निरन्तर विरोध जनाइरहेका बेला नेपाली कम्युनिष्ट पार्टीले पनि उक्त भनाइ संसदको अभिलेखबाट हटाउन र प्रधानमन्त्रीबाट सार्वजनिक रूपमा आत्मालोचना हुनुपर्ने माग गरेको छ।