जनता टाइम्स

१९ जेष्ठ २०८३, मंगलवार १२:३५

दरबार हत्याकाण्डको निष्पक्ष छानबिन होस्, आवश्यक परे राष्ट्रपतिको बयान पनि लिइयोस् : ज्ञानबहादुर शाही


काठमाडौं, जेठ १९ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानबहादुर शाहीले नारायणहिटी दरबार हत्याकाण्डको निष्पक्ष, स्वतन्त्र र विश्वसनीय छानबिन हुनुपर्ने माग गर्नुभएको छ।

पूर्वराजा वीरेन्द्र वीरविक्रम शाहदेव तथा दरबार हत्याकाण्डमा दिवङ्गत सम्पूर्ण राजपरिवारप्रति श्रद्धाञ्जली व्यक्त गर्दै नेता शाहीले घटनाबारे सत्य तथ्य सार्वजनिक गर्न राज्यले गम्भीर पहल गर्नुपर्ने बताउनुभएको हो।

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उहाँले दरबार हत्याकाण्ड कसले गर्‍यो भन्ने प्रश्न आज पनि धेरै नेपाली नागरिकको मनमा जीवित रहेको उल्लेख गर्नुभएकाे छ। त्यसैले घटनाको निष्पक्ष, स्वतन्त्र, पारदर्शी र विश्वसनीय छानबिन गरिनुपर्ने उहाँको जोड छ। ‘हामी न्याय खोजिरहेका छौँ, राजपरिवारले न्याय नपाएको देशमा के गरिब, दुःखी र निमुखा जनताले न्याय पाउँथे र ?’ भन्दै उहाँले दरबार हत्याकाण्डबारे अझै पनि जनस्तरमा अनेक प्रश्न अनुत्तरित रहेको बताउनुभएको छ।

उहाँले नेपाल सरकारसमक्ष दरबार हत्याकाण्ड भएको समयमा देशको गृहमन्त्रीको जिम्मेवारीमा रहनुभएका वर्तमान राष्ट्रपतिसँग पनि आवश्यक जानकारी लिन सकिने विषयमा विचार गर्न आग्रह गर्नुभएको छ। त्यस समयको परिस्थितिबारे उहाँसँग महत्त्वपूर्ण जानकारी, अनुभव वा दृष्टिकोण हुन सक्ने भएकाले सत्य तथ्य पत्ता लगाउने उद्देश्यले सम्बन्धित निकायले आवश्यक परे बयान लिने, जानकारी माग्ने वा छानबिन प्रक्रियामा सहयोग गर्न अनुरोध गर्न सक्ने उहाँको भनाइ छ।

नेता शाहीले दरबार हत्याकाण्ड नेपाली इतिहासकै सबैभन्दा रहस्यमय र संवेदनशील घटनामध्ये एक भएको उल्लेख गर्दै घटनासम्बन्धी शङ्का र जिज्ञासाको अन्त्य हुने गरी राज्यले विश्वसनीय अनुसन्धान प्रक्रिया अघि बढाउनुपर्ने धारणा व्यक्त गर्नुभयो।

२०५८ साल जेठ १९ गते नारायणहिटी दरबारमा भएको हत्याकाण्डमा तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्यसहित राजपरिवारका अधिकांश सदस्यको निधन भएको थियो। घटनाको दुई दशकभन्दा बढी समय बितिसक्दा पनि त्यसबारे विभिन्न प्रश्न र बहसहरू समय–समयमा उठ्दै आएका छन्।