रामेछाप, जेठ १९ । रामेछापको उमाकुण्ड गाउँपालिका–४ स्थित चण्डेश्वरी माध्यमिक विद्यालयको १८ कोठे नयाँ भवन निर्माणकार्य पाँच वर्षदेखि अलपत्र अवस्थामा रहेको छ। एसियाली विकास बैंक (एडीबी) को लगानीमा निर्माण सुरु गरिएको भवन समयमै सम्पन्न हुन नसक्दा विद्यालय, विद्यार्थी र स्थानीयवासी मारमा परेका छन्।
२०७८ सालमा निर्माण सुरु भएको उक्त भवन हालसम्म पूर्ण रूपमा सम्पन्न हुन सकेको छैन। करिब ९ करोड रुपैयाँ लागत अनुमान गरिएको भवन निर्माणको ठेक्का निर्माण व्यवसायीले करिब ५ करोड रुपैयाँमा कबोल गरेपछि काम सुरु भएको थियो। तर निर्माण व्यवसायीले लागतभन्दा निकै कम रकममा ठेक्का लिएकाले घाटा भएको भन्दै निर्माणकार्य अत्यन्त सुस्त गतिमा अघि बढाएको स्थानीयको गुनासो छ।
स्थानीयका अनुसार निर्माण व्यवसायीको लापरबाहीका कारण कामदारहरूले समेत समयमा ज्याला पाउन सकेका छैनन्। तराईका विभिन्न जिल्ला तथा भारतबाट आएका श्रमिकहरू महिनौंसम्म काम गरेर पनि पारिश्रमिक नपाएपछि निराश भएर फर्किने गरेका छन्। ‘निर्माण व्यवसायी साइटमा आउँदैनन्, काम गर्ने श्रमिकहरूले ज्याला पाउनु त परको कुरा, घर फर्कने भाडासमेत नपाएर मोबाइल र घडी बेचेर हिँड्नुपरेको अवस्था छ,’ स्थानीय गणेश श्रेष्ठले बताउनुभयो।
भवन निर्माणमा भइरहेको ढिलाइप्रति स्थानीय जनप्रतिनिधिहरू पनि असन्तुष्ट छन्। गाउँपालिका अध्यक्ष शेरबहादुर सुनुवार, वडा अध्यक्ष तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मानबहादुर सुनुवारलगायत जनप्रतिनिधिले निर्माण व्यवसायीलाई काम सम्पन्न गराउन सम्बन्धित निकायमा पटक–पटक पहल गरे पनि उल्लेख्य प्रगति हुन नसकेको बताउनुहुन्छ ।
पाँच वर्षको अवधिमा भवनको मुख्य संरचना मात्र तयार भएको छ। तर रंगरोगन, झ्याल–ढोका जडान, विद्युत् तथा अन्य फिनिसिङका काम अझै बाँकी छन्। ती काम कहिले सम्पन्न हुने भन्नेबारे समेत स्पष्टता छैन।
नयाँ भवन सञ्चालनमा आउन नसक्दा विद्यालय हालसम्म पुरानै साँघुरो भवनबाट सञ्चालन भइरहेको छ। पर्याप्त कक्षाकोठाको अभावका कारण पठनपाठन व्यवस्थापनमा समस्या भइरहेको विद्यालयले जनाएकाे छ ।
स्थानीयवासी तथा अभिभावकहरूले निर्माण व्यवसायी र सम्बन्धित निकायलाई तत्काल भवन निर्माण सम्पन्न गरी विद्यार्थीलाई सुरक्षित तथा व्यवस्थित शैक्षिक वातावरण उपलब्ध गराउन माग गरेका छन्। करोडौं रुपैयाँ लगानी भएको शैक्षिक पूर्वाधार वर्षौंसम्म अधुरै रहनु विकास निर्माणको कमजोर अनुगमन र कार्यान्वयनको उदाहरण बनेको छ।













प्रतिक्रिया दिनुहोस्