जनता टाइम्स

१९ जेष्ठ २०८३, मंगलवार १५:४२

सभामुखले चलाउन सकेनन् सदन, प्रतिनिधिसभा बैठक जेठ २५ गतेसम्मका लागि स्थगित


काठमाडौं, जेठ १९ । प्रधानमन्त्री बालेन्द्र शाहले संसदमा व्यक्त गर्नुभएको अभिव्यक्तिलाई लिएर विपक्षी दलहरूले निरन्तर विरोध जनाएपछि प्रतिनिधिसभा बैठक पुनः अवरुद्ध भएको छ। लगातारको अवरोधपछि सभामुखले बैठक आगामी जेठ २५ गते सोमबारसम्मका लागि स्थगित गर्नुभएको छ।

म‌ंगलबार बसेको प्रतिनिधिसभा बैठक सुरु हुनेबित्तिकै विपक्षी दलका सांसदहरूले आ–आफ्नो स्थानबाट उठेर विरोध जनाएका थिए। त्यस पछि सभामुखले विपक्षी सांसदलाई बाेल्न समय दिनुभएकाे थियाे । उहाँहरूले प्रधानमन्त्रीले नेपाल–भारत सीमा सम्बन्धी विषयमा दिएको अभिव्यक्तिबारे संसदमा स्पष्ट जवाफ दिनुपर्ने माग दोहोर्‍याउनु भएकाे छ ।

विपक्षी सांसदहरूको नाराबाजी र अवरोध जारी रहेपछि सभामुखले संसद सञ्चालनका लागि पटक–पटक आग्रह गर्नुभएको थियो। तर दलहरूबीच सहमति जुट्न नसकेपछि बैठकको नियमित कार्यसूची अघि बढ्न सकेन। आजका सबै कार्यसूची हटाएर उहाँले राष्ट्रपतिकाे कार्यालयबाट प्राप्त पत्र मात्र पढेर सुनाउनुभयाे । त्यस पछि बैठक स्थगित भएकाे जानकारी दिनुभयाे ।

संसदमा जारी अवरोधका कारण विधेयकमाथिको छलफल, बजेटसँग सम्बन्धित कार्यसूची तथा अन्य संसदीय कामकारबाही प्रभावित भएका छन्। सरकार र विपक्षी दलबीच सहमतिको प्रयास जारी रहे पनि हालसम्म विवाद समाधान हुन सकेको छैन। यस वर्ष बजेट माथि कुनै छलफल नहुने निश्चित भएकाे छ । सभामुखले अब एकैचाेटि बजेट पास गराउनलाई मात्र बैठक बाेलाउनु भएकाे छ ।

विपक्षी दलहरूले प्रधानमन्त्रीको अभिव्यक्तिले नेपालको सीमा, राष्ट्रिय स्वाभिमान र भौगोलिक अखण्डतासँग सम्बन्धित विषयमा भ्रम सिर्जना गरेको आरोप लगाउँदै आएका छन्। उनीहरूले प्रधानमन्त्रीबाट औपचारिक स्पष्टीकरण नआएसम्म संसदको अवरोध जारी रहने बताएका छन् ।

प्रधानमन्त्रीकाे अभिव्यक्तिलाई लिएर राष्ट्रिय सभा बैठक समेत अवरुद्ध भएकाे छ ।