काठमाडौं, जेठ १९ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की प्रमुख सचेतक खुश्वु ओलीले प्रधानमन्त्री बालेन्द्र साहले संसदमा व्यक्त गर्नुभएको विवादास्पद अभिव्यक्तिप्रति आपत्ति जनाउँदै यस विषयलाई दलगत स्वार्थभन्दा माथि उठेर राष्ट्रको गरिमासँग जोडेर हेर्नुपर्ने बताउनुभएको छ।
मंगलबार प्रतिनिधिसभा बैठकमा आफ्नो धारणा राख्दै उहाँले प्रधानमन्त्रीको अभिव्यक्तिपछि केही व्यक्तिहरू नेताको बचाउ गर्ने नाममा नेपालकै हितविपरीत तर्क र प्रमाण खोज्न लागिपरेका बताउनुभयाे । ‘हिजोसम्म देशको एक इञ्च भूमि छाड्दैनौँ भन्नेहरू आज आफ्नो नेताको बचाउ गर्न नेपालले भारतको भूमि मिचेको प्रमाण खोज्दै हिँडेका छन्, यो अत्यन्त दुःखद विषय हो,’ उहाँले भन्नुभयो।
उहाँले कुनै पनि राजनीतिक नेता वा दलको पक्षमा उभिने क्रममा राष्ट्रिय हित र सार्वभौमिकतामाथि सम्झौता गर्न नहुने धारणा व्यक्त गर्नुभयो। प्रधानमन्त्रीको बचाउ गर्ने नाममा आफ्नै देशको विरुद्धमा प्रमाण खोज्ने प्रवृत्तिले गलत सन्देश जाने उहाँको भनाइ थियो। ‘नेताको बचाउ गर्न केही मानिसहरू आफ्नै देशको विरुद्ध प्रमाण खोज्दै हिँडेका छन्,’ उहाँले भन्नुभयो।
प्रमुख सचेतक ओलीले सीमा, राष्ट्रियता र भौगोलिक अखण्डताजस्ता विषयलाई राजनीतिक विवादको विषय नबनाई राष्ट्रिय स्वाभिमानसँग जोडेर हेर्नुपर्ने आवश्यकता औँल्याउनुभयो। उहाँले प्रधानमन्त्रीलाई आफ्नो अभिव्यक्तिबारे पुनर्विचार गरी गल्ती सच्याउन आग्रह गर्नुभयो। ‘यो मुद्दालाई राष्ट्रको गरिमासँग जोडेर हेरौँ, प्रधानमन्त्रीले गल्ती सच्याउनुहोस्, पेलेर संसद नचलाइयोस्,’ उहाँले सदनमा भन्नुभयो।
प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर संसदमा जारी विवादका बीच राप्रपाले सरकारलाई जवाफदेही बन्न आग्रह गर्दै आएको छ। यसै विषयलाई लिएर विपक्षी दलहरूले निरन्तर विरोध जनाइरहेका कारण प्रतिनिधिसभाको बैठक प्रभावित हुँदै आएको छ।













प्रतिक्रिया दिनुहोस्