जनता टाइम्स

२० जेष्ठ २०८३, बुधबार ०८:२१

एकपछि अर्को अपराध, कहाँ छ सरकार ?


काठमाडौं, जेठ २० । देशका विभिन्न भागमा हत्या, लुटपाट, गोलीकाण्ड र हिंसात्मक घटनाहरू निरन्तर बढिरहेका बेला दैलेखमा बाबुले आफ्नै छोराको हत्या गरेको घटनाले शान्ति–सुरक्षाको अवस्थामाथि गम्भीर प्रश्न खडा गरेको छ। पछिल्ला दिनहरूमा नागरिकमाथि हुने आपराधिक घटनाहरू एकपछि अर्को सार्वजनिक भइरहेका बेला सरकार अपराध नियन्त्रणमा प्रभावकारी देखिन नसकेको आलोचना बढ्न थालेको छ।

दैलेखको नारायण नगरपालिका–९ सालखर्कमा ७० वर्षीय कबिराज थापाले आफ्नै ४५ वर्षीय छोरा यादव थापाको हत्या गरेका छन्। प्रहरीले दिएको जानकारीअनुसार मादक पदार्थ सेवन गरेका कबिराज थापाले सामान्य विवादका क्रममा धारिलो हतियार खुर्पा प्रहार गरेका थिए।

मंगलबार राति करिब ११ बजे भएको उक्त घटनामा खुर्पा प्रहारबाट गम्भीर घाइते भएका यादव थापालाई उपचारका लागि जिल्ला अस्पताल दैलेख लगिएको थियो। तर अस्पताल पुग्नासाथ चिकित्सकले उहाँलाई मृत घोषणा गरेका थिए।

घटनापछि प्रहरीले कबिराज थापालाई प्रयोग गरिएको खुर्पासहित नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

पछिल्ला केही दिनयता देशका विभिन्न जिल्लामा हत्या, चोरी, लुटपाट, घरेलु हिंसा तथा गोली प्रहारका घटनाहरू सार्वजनिक भइरहेका छन्। महोत्तरीमा चोरी गर्न आएका समूहले दम्पतीमाथि गोली प्रहार गरेको घटना सेलाउन नपाउँदै दैलेखमा बाबुले छोराको ज्यान लिएको घटनाले समाजमा बढ्दो हिंसा र असुरक्षाको अवस्था उजागर गरेको छ। सार्वजनीक स्थलमा समेत कुटपीट र गुण्डागर्दीका घटनाहर पनि दैनिकजसाे हुन लागेका छन् ।

नागरिकको जिउधनको सुरक्षा सुनिश्चित गर्ने राज्यको दायित्व भए पनि लगातार भइरहेका आपराधिक घटनाले ‘एकपछि अर्को अपराध, कहाँ छ सरकार ?’ भन्ने प्रश्नलाई थप बलियो बनाएको छ।