काठमाडौं, जेठ २० । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफूले पार्टी नेतृत्वबाट बीचमै जिम्मेवारी त्याग्ने वा चुनौतीबाट पछि हट्ने कुनै सोच नराखेको स्पष्ट पार्दै पार्टीलाई थप उचाइमा पुर्याएर मात्र विधिसम्मत रूपमा विश्राम लिने बताउनुभएको छ।
काठमाडौंमा मंगलबारदेखि सुरु भएको ‘सदस्यता नवीकरण तथा विस्तार उत्प्रेरणा’ विषयक दुईदिने राष्ट्रिय कार्यशालालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले पछिल्लो राजनीतिक परिस्थितिलाई गम्भीरतापूर्वक लिएको उल्लेख गर्दै पार्टी र देशलाई सही दिशामा अघि बढाउने आफ्नो संकल्प यथावत् रहेको बताउनुभयो।
उहाँले पार्टीभित्र आफ्नो भूमिकाबारे विभिन्न अड्कलबाजी हुने गरेको संकेत गर्दै कार्यकर्ताहरूलाई कुनै भ्रममा नपर्न आग्रह गर्नुभयो। ‘प्रधानमन्त्री बन्नु परे पद पाइने भयाे भने अगाडि बढ्नु, अप्ठेरो पर्यो भने झोला फालेर भाग्नु भनेर मलाई अध्यक्ष छानिएको होइन,’ अध्यक्ष ओलीले भन्नुभयो, ‘मैले बीचमै झोला फालेर हिँड्छु कि भन्ने आशंका कसैले नगर्नुहोस्।’
उहाँले आफूले पार्टीलाई अझ सुदृढ, संगठित र सक्षम बनाउने जिम्मेवारी पूरा गरेपछि मात्र नेतृत्व हस्तान्तरणको विषय आउने स्पष्ट पार्नुभयो। ‘पार्टीलाई उचाइमा पुर्याएर, व्यवस्थित बनाएर र विधिसम्मत प्रक्रियामार्फत मात्रै विश्राम लिउँला,’ उहाँले भन्नुभयो।
पछिल्लो समय आफ्नो स्वास्थ्य अवस्थाबारे उठेका विभिन्न चर्चा र चासोलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आफू अहिले स्वस्थ रहेको बताउनुभयो। ‘म अब स्वस्थ छु,’ उहाँले भन्नुभयो, ‘देश र पार्टीले सामना गरिरहेका चुनौतीलाई मैले गम्भीर रूपमा लिएको छु।’
उहाँले वर्तमान राजनीतिक परिस्थितिलाई चुनौतीपूर्ण भए पनि त्यसबाट विचलित नभई सामना गर्ने अठोट व्यक्त गर्नुभयो। ‘यो चुनौतीको सामना गरेर पार्टी र देशलाई अगाडि बढाउने मेरो स्पष्ट संकल्प छ,’ उहाँले भन्नुभयो। अध्यक्ष ओलीले एमाले अहिले कठिन राजनीतिक अवस्थाबाट गुज्रिरहेको भए पनि संगठनात्मक एकता, वैचारिक स्पष्टता र जनतासँगको सम्बन्धका आधारमा पुनः सशक्त ढंगले अघि बढ्ने विश्वास व्यक्त गर्नुभयो।
सम्बोधनका क्रममा अध्यक्ष ओलीले पूर्वराष्ट्रपति विद्या भण्डारीको पार्टी सदस्यतासम्बन्धी विषयमा पनि धारणा राख्नुभयो। उहाँले केही नेताहरूले अहिले पनि उक्त विषय उठाइरहेको उल्लेख गर्दै पूर्वराष्ट्रपति भण्डारी राष्ट्रपतिको पदमा रहँदा पार्टीको सक्रिय सदस्यता नरहेको बताउनुभयो। ‘विद्या भण्डारी राष्ट्रपतिमा रहँदा उहाँको पार्टी सदस्यता थिएन,’ उहाँले भन्नुभयो।
राष्ट्रपतिको कार्यकाल पूरा भएपछि उहाँले प्रक्रिया पूरा गरेर पुनः पार्टी सदस्यता लिएको जानकारी पनि अध्यक्ष ओलीले दिनुभयो। ‘राष्ट्रपति पद छाडेपछि उहाँले निवेदन दिएर फेरि सदस्यता जोड्नुभएको हो,’ उहाँले भन्नुभयो, ‘उहाँको सदस्यता पुरानै निरन्तरतामा कायम गरिएको छ।’
अध्यक्ष ओलीले पार्टीभित्र अनावश्यक विवाद सिर्जना गर्नुभन्दा संगठन निर्माण, सदस्यता विस्तार र जनतासँगको सम्बन्ध सुदृढीकरणमा ध्यान केन्द्रित गर्न कार्यकर्ताहरूलाई आग्रह गर्नुभयो।
दुईदिने राष्ट्रिय कार्यशालामा देशभरका प्रदेश तथा जिल्ला तहका जिम्मेवार नेता, संगठन विभागका पदाधिकारी तथा जनसंगठनका प्रतिनिधिहरू सहभागी छन्। कार्यशालामा सदस्यता नवीकरण, संगठन विस्तार, पार्टी सुदृढीकरण र आगामी राजनीतिक कार्ययोजनाका विषयमा व्यापक छलफल भइरहेको छ।













प्रतिक्रिया दिनुहोस्