काठमाडौं, जेठ २२ । राष्ट्रपति रामचन्द्र पौडेलले प्रकृतिमुखी जीवनशैली अवलम्बन गर्दै वातावरण संरक्षण र सुधारका गतिविधिलाई प्रवर्द्धन गर्न सबै नागरिक तथा सरोकारवाला निकायलाई आह्वान गर्नुभएको छ।
विश्व वातावरण दिवस (जुन ५) २०२६ का अवसरमा आज शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति पौडेलले विकास र वातावरण एकअर्काका परिपूरक रहेको उल्लेख गर्दै दिगो विकासका लागि वातावरण संरक्षण अपरिहार्य रहेको बताउनुभएको हो। ‘विकास र वातावरण एकापसका परिपूरक हुन् भन्ने अवधारणाबमोजिम हामी सबैले प्रकृतिमुखी जीवनशैली अवलम्बन गरी वातावरण सुधारका गतिविधि प्रवर्द्धन गर्न सम्बन्धित सबैलाई हार्दिक आह्वान गर्दछु,’ शुभकामना सन्देशमा उल्लेख छ।
राष्ट्रपति पौडेलले स्वच्छ ऊर्जाको प्रयोग, वृक्षरोपण, जलवायु परिवर्तनसँग अनुकूलन गर्न सक्ने क्षमताको विकास तथा प्राकृतिक सम्पदाको संरक्षणमार्फत भावी पुस्ताका लागि सुरक्षित र हरित भविष्य निर्माण गर्न सकिने विश्वास व्यक्त गर्नुभएको छ।
उहाँले जलवायु परिवर्तन, प्रदूषण तथा प्राकृतिक स्रोतहरूको अत्यधिक दोहनले विश्व समुदायलाई गम्भीर चुनौती दिइरहेको उल्लेख गर्दै जलवायु परिवर्तन अब भविष्यको मात्र खतरा नभई वर्तमानमै अनुभूत भइरहेको वास्तविकता भएको बताउनुभएको छ।
शुभकामना सन्देशमा राष्ट्रपति पौडेलले वातावरण संरक्षण, हरित विकास तथा जलवायु परिवर्तनका असर न्यूनीकरण गर्ने अभियानमा नागरिक समुदाय, निजी क्षेत्र, सरकारी निकाय तथा अन्य सरोकारवालाको सक्रिय सहभागिता आवश्यक रहेको उल्लेख गर्नुभएको छ। विश्व वातावरण दिवसले यस अभियानप्रति थप ऐक्यबद्धता, जागरण र उत्साह प्रदान गर्ने विश्वास पनि उहाँले व्यक्त गर्नुभएको छ। ‘प्रकृति र वातावरण मानव जीवनको आधार हो। स्वच्छ हावा, शुद्ध पानी, हरियाली वनजङ्गल र जैविक विविधताको संरक्षण गर्नु हाम्रो साझा अधिकार र दायित्व दुवै हो,’ सन्देशमा भनिएको छ।
राष्ट्रपति पौडेलले नेपालमा हिमाल पग्लिने, अनियमित वर्षा हुने, बाढीपहिरो बढ्ने तथा वातावरणीय असन्तुलनका विभिन्न असर देखिन थालेको उल्लेख गर्दै यस्ता चुनौती सामना गर्न सबै पक्ष सचेत, जिम्मेवार र सक्रिय हुनुपर्नेमा जोड दिनुभएको छ।
उहाँले विश्व वातावरण दिवसले वातावरण संरक्षणप्रति जनचेतना अभिवृद्धि गर्दै प्रकृतिप्रति जिम्मेवार व्यवहार अपनाउन सबैलाई प्रेरित गर्ने विश्वास व्यक्त गर्नुभएको छ।
संयुक्त राष्ट्रसङ्घको आह्वानमा प्रत्येक वर्ष जुन ५ तारिखलाई विश्व वातावरण दिवसका रूपमा मनाइँदै आएको छ। यस वर्ष ‘समृद्ध भविष्यको आधारः जलवायु एवं प्रकृतिमैत्री विकास’ भन्ने नारासहित विभिन्न कार्यक्रम गरी विश्व वातावरण दिवस मनाइँदै छ।













प्रतिक्रिया दिनुहोस्