काठमाडौं, जेठ २२ । नेकपा (एमाले)का सचिव महेश बस्नेतले सुशासनको नाममा राज्य शक्ति प्रयोग गरेर डर र त्रासको वातावरण सिर्जना गर्नु लोकतान्त्रिक मूल्य–मान्यताअनुकूल नहुने बताउनुभएको छ।
उपराष्ट्रपति कार्यालयका सचिव कृष्णहरि पुष्करलाई काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई व्यक्तिगत सन्देश पठाएको आरोपमा प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गरेको घटनाप्रति प्रतिक्रिया जनाउँदै सचिव बस्नेतले कानुनको शासन र संस्थागत मर्यादाको सम्मान नै सुशासनको आधार भएको धारणा व्यक्त गर्नुभएको हो।
उहाँले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै ‘सुशासन भनेको राज्य शक्ति देखाएर डर सिर्जना गर्नु होइन, कानुन र संस्थागत मर्यादाको सम्मान गर्नु हो’ भन्नुभएको छ।
सचिव बस्नेतले प्रश्न उठाउने, संवाद गर्ने तथा प्रशासनिक तहमा आवश्यक समन्वय गर्ने वातावरण साँघुरिँदै जानु लोकतन्त्रका लागि सकारात्मक संकेत नभएको उल्लेख गर्नुभएको छ। उहाँले लोकतान्त्रिक व्यवस्थामा फरक विचार, संवाद र संस्थागत प्रक्रियालाई सम्मान गरिनुपर्ने धारणा राख्नुभएको छ।
उहाँका अनुसार उपराष्ट्रपति कार्यालयका सचिव कृष्णहरि पुष्करलाई प्रधानमन्त्रीका विषयमा व्यक्तिगत सन्देश पठाएको आरोपमा नियन्त्रणमा लिएर करिब आठ घण्टा सोधपुछ गरिए पनि मुद्दा चलाउन पर्याप्त आधार नपुगेपछि रिहा गरिएको घटनाले विभिन्न प्रश्न खडा गरेको छ। ‘यदि एउटा सचिवले सार्वजनिक पदमा रहेका एक वरिष्ठ कर्मचारीलाई केवल व्यक्तिगत सन्देश पठाएको वा चेन अफ कमाण्ड उल्लङ्घन गरेको आरोपमा प्रहरी नियन्त्रणमा पर्नुपर्ने अवस्था हो भने प्रशासनिक स्वतन्त्रता, विधिको शासन र नागरिक अधिकारमाथि गम्भीर प्रश्न उठ्छ,’ सचिव बस्नेतले उल्लेख गर्नुभएको छ।
उहाँले राज्यका निकायहरूले आफ्नो अधिकार प्रयोग गर्दा कानुनी सीमाभित्र रहेर काम गर्नुपर्ने र नागरिक तथा कर्मचारीको अधिकारको संरक्षणलाई प्राथमिकतामा राख्नुपर्ने बताउनुभएको छ।













प्रतिक्रिया दिनुहोस्