जनता टाइम्स

२३ जेष्ठ २०८३, शनिबार १५:२२

रास्वपाभित्र विकृति मौलाएको रविको स्वीकारोक्ति, सुनाए कठोर सन्देश


काठमाडौं, जेठ २३ । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीभित्र गम्भीर विकृति मौलाएको भन्दै चिन्ता जनाउनु भएको छ । सामाजिक सञ्जालमार्फत सभापति लामिछानेले पार्टीभित्र पदोन्नतिको अपेक्षा राख्ने वा योगदानको हिसाब–किताब खोज्ने प्रवृत्ति देखिएको भन्दै पार्टी जीवनका लागि यस्तो कुरा हितकर नहुने निष्कर्ष पनि सुनाउनु भएको छ ।

पार्टी स्थापनाको चार वर्षमै यस्ता प्रवृत्ति देखिनु चिन्ताको विषय भएको पनि बताउनु भएको छ । यस्ता प्रवृत्तिलाई समयमै सच्याउनुपर्ने निष्कर्षसमेत सभापति लामिछानेको छ । यति बेला रास्वपा पार्टी महाधिवेशनको रहेको संघारमा छ । आगामी असार दोस्रो साता केन्द्रीय महाधिवेशन गर्न लागेको रास्वपाले अहिले धमाधम वडा, पालिका हुँदै जिल्ला तहको अधिवेशन भइरहेको छ ।

‘स्थापनाकालमा सीमित दायरामा सहमतिका आधारमा बाँडिएका तदर्थ जिम्मेवारीलाई स्थायी मानक मानेर पदोन्नतिको अपेक्षा राख्ने वा ‘योगदान’को हिसाब–किताब खोज्ने प्रवृत्ति पार्टी जीवनका लागि हितकर हुँदैन,’ सभापति लामिछानेले भन्नुभएको छ, ‘चार वर्षमै यस्तो प्रवृत्तिले जरा गाड्न खोज्नु चिन्ताको विषय हो, जसलाई हामीले समयमै सच्याउनुपर्छ ।’

सभापति लामिछानेले विशेष गरी मधेस लगायतका केही जिल्लामा देखिएको विवादकाबीच नेतृत्वका लागि मरिहत्ते गर्ने प्रवृत्ति देखिएको भन्दै लोकतान्त्रिक प्रक्रियाबाट न्यूनीकरण गर्नुपर्ने बताउनु भएको हो । ‘पार्टी जिम्मेवारीमा रहेर भविष्यमा संसदीय अवसर प्राप्त गर्ने आशयले नेतृत्वका लागि मरिहत्ते गर्ने प्रवृत्ति पनि कहिलेकाहीँ देखिएको छ। यस्ता प्रवृत्तिलाई अधिवेशनकै लोकतान्त्रिक प्रक्रियाबाट न्यूनीकरण गर्नु आजको आवश्यकता हो,’ लामिछानेको भनाई छ ।

पार्टी अहिले जुन अवस्थामा पुगेको छ, त्यो कुनै व्यक्तिको मात्रै योगदानले नभएको भन्दै मतदाताको विवेक र पार्टी सदस्यहरूको समर्पणले सम्भव भएको पनि उहाँको भनाई छ । ‘आज हामी जहाँ छौँ, त्यो केवल केही व्यक्तिको योगदानले होइन, सबैभन्दा माथि मतदाताको विवेक, त्यसपछि पार्टीका सम्पूर्ण सदस्यहरूको समर्पणले सम्भव भएको हो । पुराना साथीहरूले बनाएको जगमा नयाँ पुस्ताको ऊर्जा र सक्रियताले हाम्रो यात्रालाई यहाँसम्म ल्याएको हो,’ लामिछानेले भन्नुभएको छ ।

अधिवेशन र महाधिवेशन केवल नेतृत्व चयनको प्रक्रिया मात्र नभई पार्टीको पार्टीको अनन्तकालीन जीवन, विधि–पद्धति, अभ्यास र स्वस्थ परम्परा निर्माण गर्ने ऐतिहासिक अवसर रहेको भन्दै यसतर्फ सचेत हुन पनि लामिछानेले नेतादेखि कार्यकर्तासम्मलाई निर्देशन दिनुभएको छ ।

‘पार्टीको सर्वोपरि हितका लागि हरेक तहमा सक्षम, इमानदार र जनमैत्री नेतृत्व आवश्यक छ। संवाद सहमति र आन्तरिक निर्वाचनजस्ता लोकतान्त्रिक विधिहरू अपनाएर नेतृत्व चयन गरिनु नै हाम्रो संस्कार हो । यही प्रक्रियाबाट पार्टी अझ बलियो र परिपक्व बन्दै जान्छ,’ सभापति लामिछानेले भनाई छ ।

विचार मात्र होइन, शैली, व्यवहार र राजनीतिक संस्कार पनि उन्नत हुनुपर्ने उनको भनाइ छ । जसका लागि पुरानै सोच, शैली र प्रवृत्ति बोकेर नयाँ र परिष्कृत जनमैत्री शक्ति बन्न नसक्नेतर्फ पनि उहाँले सजग गराउनु भएको छ । अबको लक्ष्य केवल वैकल्पिक शक्ति बन्ने होइन, मुलुकको नेतृत्व गर्ने सक्षम राजनीतिक शक्ति बन्ने रहेको उहाँको भनाइ छ ।

‘त्यसका लागि पार्टीलाई अझ फराकिलो, समावेशी र सुदृढ बनाउनुपर्छ। तर, सङ्गठन विस्तार हुँदा ‘म रहन्न कि’ भन्ने सङ्कीर्ण चिन्तालाई त्याग्नुपर्छ । पार्टी ठुलो हुँदा हामी सबैको भूमिका अझ अर्थपूर्ण हुन्छ,’ सभापति लामिछानेले भन्नुभएको छ । यस्तै लामिछानेले नेता कार्यकर्ताहरूलाई अब ‘म’ बाट ‘हामी’ मा रूपान्तरण हुने बेला आएको बटुलाइन पनि सुनाउनु भएको छ ।

स्थापनाकालमा सीमित दायरामा सहमतिका आधारमा बाँडिएका तदर्थ जिम्मेवारीलाई स्थायी मानक मानेर पदोन्नतिको अपेक्षा राख्ने वा ‘योगदान’को हिसाबकिताब खोज्ने प्रवृत्ति पार्टी जीवनका लागि हितकर हुँदैन। चार वर्षमै यस्तो प्रवृत्तिले जरा गाड्न खोज्नु चिन्ताको विषय हो, जसलाई हामीले समयमै सच्याउनुपर्छ

रविको भनाई जस्ताको तस्तै

प्रिय रास्वपा परिवारजन
नमस्कार, जय घण्टी।
रास्वपाको पहिलो महाधिवेशनको प्रक्रिया अन्तर्गत वडा र पालिका तहका अधिवेशनहरू सफलतापूर्वक सम्पन्न भइसकेका छन्। आज र भोलि अर्थात् ९जेठ २३ र २४ गते० जिल्ला अधिवेशनहरू हुँदैछन्। अधिवेशन र महाधिवेशन केवल नेतृत्व चयनको प्रक्रिया मात्र होइन, पार्टीको अनन्तकालीन जीवन, विधि(पद्धति, अभ्यास र स्वस्थ परम्परा निर्माण गर्ने ऐतिहासिक अवसर हो। यसले हाम्रो आगामी यात्रालाई स्पष्ट दिशानिर्देश गर्नेछ।

पार्टीको सर्वोपरि हितका लागि हरेक तहमा सक्षम, इमानदार र जनमैत्री नेतृत्व आवश्यक छ। सम्बाद सहमति र आन्तरिक निर्वाचनजस्ता लोकतान्त्रिक विधिहरू अपनाएर नेतृत्व चयन गरिनु नै हाम्रो संस्कार हो। यही प्रक्रियाबाट पार्टी अझ बलियो र परिपक्व बन्दै जान्छ। हामीले रास्वपालाई उन्नत लोकतान्त्रिक पार्टी बनाउने लक्ष्य लिएका छौं। त्यसका लागि विचार मात्र होइन, हाम्रो शैली, व्यवहार र राजनीतिक संस्कार पनि उन्नत हुनुपर्छ। पुरानै सोच, शैली र प्रवृत्ति बोकेर हामी नयाँ र परिस्कृत जनमैत्री शक्ति बन्न सक्दैनौं।

स्थापनाकालमा सीमित दायरामा सहमतिका आधारमा बाँडिएका तदर्थ जिम्मेवारीलाई स्थायी मानक मानेर पदोन्नतिको अपेक्षा राख्ने वा ‘योगदान’को हिसाब(किताब खोज्ने प्रवृत्ति पार्टी जीवनका लागि हितकर हुँदैन। चार वर्षमै यस्तो प्रवृत्तिले जरा गाड्न खोज्नु चिन्ताको विषय हो, जसलाई हामीले समयमै सच्याउनुपर्छ। पार्टी जिम्मेवारीमा रहेर भविष्यमा संसदीय अवसर प्राप्त गर्ने आशयले नेतृत्वका लागि मरिहत्ते गर्ने प्रवृत्ति पनि कहिलेकाहीँ देखिएको छ। यस्ता प्रवृत्तिलाई अधिवेशनकै लोकतान्त्रिक प्रक्रियाबाट न्यूनीकरण गर्नु आजको आवश्यकता हो।

आज हामी जहाँ छौं, त्यो केवल केही व्यक्तिको योगदानले होइन, सबैभन्दा माथि मतदाताको विवेक, त्यसपछि पार्टीका सम्पूर्ण सदस्यहरूको समर्पणले सम्भव भएको हो। पुराना साथीहरूले बनाएको जगमा नयाँ पुस्ताको ऊर्जा र सक्रियताले हाम्रो यात्रालाई यहाँसम्म ल्याएको हो। अब हाम्रो लक्ष्य केवल वैकल्पिक शक्ति बन्ने होइन, मुलुकको नेतृत्व गर्ने सक्षम राजनीतिक शक्ति बन्ने हो। त्यसका लागि पार्टीलाई अझ फराकिलो, समावेशी र सुदृढ बनाउनुपर्छ। तर, संगठन विस्तार हुँदा ‘म रहन्न कि’ भन्ने संकीर्ण चिन्तालाई त्याग्नुपर्छ। पार्टी ठूलो हुँदा हामी सबैको भूमिका अझ अर्थपूर्ण हुन्छ।

युगले दिएको अभिभारा पूरा गर्न, पछिल्लो जनमतलाई अझ विस्तार गर्न र राजनीतिलाई सुसंस्कृत, पारदर्शी तथा जनमैत्री बनाउन हामी सबैले धैर्य, त्याग र समर्पण देखाउनुपर्छ। अब ‘म’ बाट ‘हामी’मा रुपान्तरण हुने बेला आएको छ। स्वपाको पहिलो ऐतिहासिक महाधिवेशन प्रक्रिया सभ्य, भव्य, सुसंस्कृत र सन्देशमूलक बनोस् भन्ने शुभेच्छा व्यक्त गर्दछु।
जय घण्टी।