जनता टाइम्स

२५ जेष्ठ २०८३, सोमबार ०७:४६

हर्क साम्पाङको प्रश्न : बालेनको अभिव्यक्ति, रविलाई भारतमा रातो कार्पेट, अब भन्नुस् यो सरकार कस्को ?


काठमाडौं, जेठ २५ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्री बालेन्द्र साहको संसद्मा दिएको अभिव्यक्ति र रास्वपा सभापति रवि लामिछानेको भारत भ्रमणलाई जोड्दै सरकारमाथि प्रश्न उठाउनुभएको छ।

सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै उहाँले जेठ १७ गते प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री बालेन्द्र साहले नेपालले पनि भारतको सीमा मिचेको भन्ने अभिव्यक्ति दिएपछि भारत खुसी भएको र त्यस लगत्तै रवि लामिछानेलाई भारतमा भव्य स्वागत गरिएको दाबी गर्नुभएको छ।

उहाँले भारतीय पक्षलाई खुसी पार्ने अभिव्यक्ति प्रधानमन्त्रीबाट आएको टिप्पणी गर्दै त्यसपछि भारत भ्रमणमा गएका रवि लामिछानेलाई दिल्लीमा ‘रातो कार्पेट’ ओछ्याएर स्वागत गरिएको प्रसङ्ग उल्लेख गर्नुभएको छ।

साम्पाङले सामाजिक सञ्जालमा लेख्नुभएको छ, ‘१७ गते बालेनले भारतलाई रिझाउने अभिव्यक्ति दिए अनि रविलाई भारतमा भव्य स्वागत गरियो, भारतीय सबै खुसी छन्, नेपाली सबै दुःखी र आन्दोलित छौँ, अब भन्नुस् यो सरकार कस्को हो ?’

उहाँको उक्त अभिव्यक्ति पछिल्लो समय नेपाल–भारत सम्बन्ध, सीमा विवाद तथा राष्ट्रिय स्वाभिमानसँग सम्बन्धित विषयमा भइरहेको सार्वजनिक बहसको सन्दर्भमा आएको हो।

साम्पाङले सरकारको नीति र व्यवहारप्रति असन्तुष्टि जनाउँदै राष्ट्रिय हित र जनभावनाअनुसार काम गर्न सरकारलाई आग्रहसमेत गर्दै आउनु भएको छ ।