जनता टाइम्स

२६ जेष्ठ २०८३, मंगलवार १३:४३

देशकाे सीमाकाे कुरा उठ्दा बोलेन भने इतिहासले पनि माफ गर्दैन भनेर संसदमा उभिएका छाैँ : क्षितिज थेबे


काठमाडौं, जेठ २६ । नेकपा (एमाले) का सांसद क्षितिज थेबेले प्रधानमन्त्रीलाई संसदमा बोलाएर राष्ट्रहित विपरीत भनिएका अभिव्यक्तिबारे स्पष्टीकरण गराई गल्ती सच्याउनुपर्ने माग गर्नुभएको छ ।

प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै सांसद थेबेले आफूहरू ‘विरोधका लागि विरोध गर्न’ नउठेको स्पष्ट गर्दै ‘बोलेन भने इतिहासले पनि माफ गर्दैन’ भन्ने चेतनाका साथ संसदमा उभिएको बताउनुभयो ।

सत्तारुढ दलले ‘सहीलाई सही र गलतलाई गलत’ भन्ने प्रतिबद्धताका साथ काम गर्ने अपेक्षा भए पनि व्यवहारमा त्यसअनुसार नदेखिएको उहाँको भनाइ थियो । प्रधानमन्त्रीले राष्ट्रहित विपरीत धारणा राख्दा सत्ता पक्षकै सांसदहरू साथमा उभिने अपेक्षा गरिएको भए पनि त्यो नदेखिएको उहाँले उल्लेख गर्नुभयो । उहाँहरु सहीलाई सही भन्ने, गलतलाई गलत भन्ने, जान्नेलाई छान्ने भनेर आउनु भएकाे थियाे, प्रधानमन्त्रीकाे अभिव्यक्ति विरुद्ध संसदमा प्रतिपक्षीसँगै उभिनुहाेला भन्ने लागेकाे थियाे’, उहाँले भन्नुभयाे ।

सांसद थेबेले प्रधानमन्त्रीलाई संसदमा उपस्थित गराएर भनिएका विषयमा स्पष्टीकरण लिई आवश्यक परे गल्ती फिर्ता गराउनुपर्ने माग राख्नुभयो । त्यसपछि मात्र बजेटमाथिको छलफल अघि बढाउनुपर्ने उहाँको तर्क थियो ।

उहाँले अर्थ विधेयकको विषयमा पनि गम्भीर प्रश्न उठाउँदै अर्थमन्त्रीले संसदमा प्रस्तुत गरेको विधेयक र मन्त्रालयको वेबसाइटमा राखिएको दस्तावेज फरक–फरक रहेको दाबी गर्नुभयो । ‘व्यक्तिले बोक्न सक्ने होइन, ट्रकमा नै बोक्नुपर्ने रकम चलखेल भएको छ छानबिन हुनुपर्छ,’ सांसद थेबेले भन्नुभयो ।

सांसद थेबेले संसदमा उठाइएका यस्ता विषयहरू सामान्य नभएको उल्लेख गर्दै पारदर्शिता र जवाफदेहिताका लागि छानबिन अनिवार्य रहेको धारणा पनि राख्नुभयो ।