दैलेख, जेठ २७ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दैलेखको प्रथम जिल्ला अधिवेशन चरम विवादमा परेको छ। मतदानमा खसेको मतभन्दा बढी मत गणना भएको दाबी गर्दै असन्तुष्ट पक्षले निर्वाचन प्रक्रियामाथि गम्भीर प्रश्न उठाएको छ।
रास्वपा दैलेखको सभापति पदका लागि बखतबहादुर भण्डारी, प्रकाश बुढा, विनीबहादुर शाही र मित्रराज प्याकुरेल प्रतिस्पर्धामा रहेका थिए। नेतृत्व चयनका लागि सर्वसम्मत प्रयास असफल भएपछि आइतबार साँझ निर्वाचन गरिएको थियो।
सभापति पदका उम्मेदवारमध्येका एक प्रकाश बुढाका अनुसार निर्वाचन समितिले कुल २४० मत खसेको जानकारी दिएको थियो। तर मतगणनापछि सार्वजनिक गरिएको नतिजामा सभापतिका चारै उम्मेदवारले प्राप्त गरेको कुल मत सङ्ख्या २४६ पुगेको देखिएको छ।
निर्वाचन परिणामअनुसार बखतबहादुर भण्डारी ९३ मत प्राप्त गर्दै सभापतिमा निर्वाचित घोषित भएका थिए। यस्तै, प्रकाश बुढाले ६९, विनीबहादुर शाहीले ४३ तथा मित्रराज प्याकुरेलले ४१ मत प्राप्त गरेका थिए। चारै उम्मेदवारले पाएको मत जोड्दा २४६ पुग्छ।
बुढाका अनुसार निर्वाचन समितिले खसेको २४० मतमध्ये ६ मत बदर भएको जानकारी दिएको थियो। यस्तो अवस्थामा वैध मत सङ्ख्या २३४ हुनुपर्ने भए पनि उम्मेदवारहरूले प्राप्त गरेको कुल मत २४६ देखिएपछि निर्वाचन प्रक्रियाको विश्वसनीयतामाथि प्रश्न उठेको उहाँको भनाइ छ। ‘खसेको मत २४० भनियो, त्यसमध्ये ६ मत बदर भएको जानकारी दिइयो, त्यसपछि वैध मत २३४ हुनुपर्ने हो तर उम्मेदवारले पाएको मत जोड्दा २४६ पुग्यो,’ बुढाले भन्नुभयो, ‘यो गम्भीर विषय हो, यसबारे निष्पक्ष छानबिन हुनुपर्छ।’
निर्वाचन समितिले सार्वजनिक गरेको मत विवरण र गणनाबाट देखिएको मत सङ्ख्याबिच तालमेल नमिलेको भन्दै असन्तुष्ट पक्षले निर्वाचन प्रक्रिया अपारदर्शी र गैरजिम्मेवार भएको आरोप लगाएको छ।
विवाद चर्किएपछि निर्वाचनमा अनियमितता भएको आशङ्कामा छानबिनको माग गर्दै रास्वपा दैलेखको जिल्ला पार्टी कार्यालयमा तालाबन्दीसमेत गरिएको छ। अहिले ‘हराएका’ भनिएका १२ मतको खोजी भइरहेको बताइएको छ।
घटनापछि जिल्ला तहको नेतृत्व चयन प्रक्रियाको निष्पक्षता र पारदर्शिताबारे प्रश्न उठेको छ। विवाद समाधान र सत्य-तथ्य बाहिर ल्याउन पार्टी नेतृत्वले आवश्यक पहल गर्नुपर्ने माग कार्यकर्ताहरूले गरेका छन्।













प्रतिक्रिया दिनुहोस्