जनता टाइम्स

२८ जेष्ठ २०८३, बिहीबार १०:१२

फास्ट ट्रयाकमा पिकअप दुर्घटना : पूर्वहवल्दार र इन्जिनियरको मृत्यु


काठमाडौं, जेठ २८ । मकवानपुरको भीमफेदी गाउँपालिका–८ बैदमारस्थित काठमाडौं–तराई द्रुतमार्ग (फास्ट ट्रयाक) क्षेत्रमा पिकअप भ्यान दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।

बुधबार राति करिब साढे १० बजे माण्डु हाइड्रोपावरतर्फबाट इपातर्फ जाँदै गरेको बा.प्र.०१–०३३ च २१४४ नम्बरको योद्धा पिकअप भ्यान सडकबाट करिब १०० फिट तल खोलामा खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

दुर्घटनामा सिन्धुलीको कमलामाई नगरपालिका–९ भिमान निवासी करिब ४२ वर्षीय बोधराज बुढाथोकी र बाराको पचरौता नगरपालिका–७ निवासी २१ वर्षीय सूर्य यादव गम्भीर घाइते भएका थिए।

प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफ्लेका अनुसार बुढाथोकी नेपाली सेनाका पूर्वहवल्दार तथा उक्त गाडीका चालक थिए भने यादव फास्ट ट्रयाक आयोजनामा इन्जिनियरका रूपमा कार्यरत थिए।

दुर्घटनाको जानकारी प्राप्त हुनासाथ नेपाल प्रहरी तथा नेपाली सेनाको काठमाडौं–तराई द्रुतमार्ग सिस्नेरी बेस क्याम्पबाट संयुक्त उद्धार टोली घटनास्थलमा खटिएको थियो। टोलीले गाडीमा सवार दुवै जनालाई गम्भीर अवस्थाबाट उद्धार गरी उपचारका लागि पठाएको थियो।

बुधबार राति दुर्घटना भए पनि दुर्गम भौगोलिक अवस्थाका कारण उनीहरूलाई बिहीबार बिहान मात्रै हेटौंडा अस्पताल ल्याइएको प्रहरीले जनाएको छ। अस्पताल ल्याइएलगत्तै चिकित्सकले दुवै जनालाई मृत घोषणा गरेका थिए।

प्रहरीका अनुसार मृतकहरूको शव हेटौंडा अस्पतालमा राखिएको छ भने दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको छ।