काठमाडौं, जेठ २८ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानबहादुर शाहीले विद्युतीय सवारीसाधन (इभी) को भन्सार कर छुटसम्बन्धी प्रकरणमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संसदीय समितिलाई समेत गलत जानकारी दिनुभएको आरोप लगाउनुभएको छ।
बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै नेता शाहीले महालेखा परीक्षकको कार्यालयले पनि इभी आयातका क्रममा अनियमितता भएको विषय औँल्याएको बताउनुभयो। उहाँले करका दरमा गरिएको हेरफेरको जानकारी सार्वजनिक भएसँगै ठूलो सङ्ख्यामा इभी नेपाल भित्रिएको दाबी गर्नुभयो। ‘भन्सार कर छुटको विषयमा अर्थमन्त्रीले संसदीय समितिलाई समेत ढाट्नुभएको छ,’ उहाँले भन्नुभयो, ‘महालेखा परीक्षकको कार्यालयले समेत इभी गाडी आयातमा अनियमितता भएको प्रतिवेदन दिएको छ।’
नेता शाहीले करका दर परिवर्तन भएको जानकारी पाएपछि नै योजनाबद्ध रूपमा ठूलो सङ्ख्यामा इभी आयात गरिएको भन्दै यस विषयमा संसदीय छानबिन आवश्यक रहेको माग गर्नुभयो। उहाँले करका दर हेरफेर गर्ने तथा त्यसको सूचना व्यापारीहरूलाई उपलब्ध गराउने कार्यमा संलग्न व्यक्तिहरूलाई पनि छानबिनको दायरामा ल्याउनुपर्ने धारणा राख्नुभयो। ‘करका दर हेरफेर गर्ने र त्यसको सूचना व्यापारीहरूलाई दिने अर्थमन्त्रीलाई समेत छानबिनको दायरामा ल्याउनुपर्छ,’ उहाँले भन्नुभयो।
नेता शाहीले सार्वजनिक सरोकारसँग जोडिएको यस विषयमा निष्पक्ष र पारदर्शी छानबिन हुनुपर्नेमा जोड दिनुभयाे । दोषी ठहर हुने जोसुकैलाई कानुनी कारबाहीको दायरामा ल्याउन सरकारसँग उहाँले माग गर्नुभयो।













प्रतिक्रिया दिनुहोस्