जनता टाइम्स

२८ जेष्ठ २०८३, बिहीबार २१:१९

रास्वपाको वाग्मती प्रदेश अधिवेशनको स्थगित निर्वाचन जेठ ३० मा, ईभीएममार्फत मतदान हुने


काठमाडौं, जेठ २८ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को वाग्मती प्रदेश अधिवेशन अन्तर्गत स्थगित गरिएको निर्वाचन प्रक्रिया पुनः सुचारु हुने भएको छ। पार्टीको केन्द्रीय निर्वाचन आयोगले सूचना जारी गर्दै आगामी जेठ ३० गते विद्युतीय मतदान मेसिन (ईभीएम) मार्फत मतदान गराइने जनाएको हो।

केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीद्वारा जारी सूचनाअनुसार जेठ २७ गते प्राविधिक तथा व्यवस्थापकीय कारण देखाउँदै अस्थायी रूपमा स्थगन गरिएको निर्वाचन प्रक्रियासँग सम्बन्धित सम्पूर्ण प्राविधिक कार्य सम्पन्न भइसकेको छ। आयोगले मतदाता नामावली प्रमाणीकरण, समायोजन सूचीको व्यवस्थापन तथा प्राविधिक परीक्षणको काम पूरा भएको जानकारी दिँदै सम्पूर्ण प्रतिनिधि, उम्मेदवार तथा सरोकारवालालाई निर्वाचन प्रक्रियामा सहभागी हुन आग्रह गरेको छ।

सूचनाअनुसार वाग्मती प्रदेश अधिवेशन अन्तर्गतको मतदान जेठ ३० गते बिहान ११ बजेदेखि बेलुका ५ बजेसम्म सञ्चालन हुनेछ। मतदान काठमाडौंको धुम्बाराहीस्थित शंखपार्कमा रहेको स्मार्ट दरबार मा हुने जनाइएको छ।

यसपटकको निर्वाचन प्रक्रिया पूर्ण रूपमा विद्युतीय मतदान मेसिन (Electronic Voting Machine–EVM) मार्फत सञ्चालन गरिने आयोगले स्पष्ट पारेको छ।

आयोगले मतदानमा सहभागी हुने प्रतिनिधिहरूका लागि केही अनिवार्य व्यवस्थासमेत सार्वजनिक गरेको छ। मतदान स्थलमा प्रवेश गर्न र मताधिकार प्रयोग गर्नका लागि पार्टीले उपलब्ध गराएको आधिकारिक फोटोसहितको परिचयपत्र तथा लेभी बुझाएको प्रमाणपत्र अनिवार्य रूपमा साथमा ल्याउनुपर्ने उल्लेख गरिएको छ।

निर्धारित समयभित्र मतदान केन्द्रमा उपस्थित भई आफ्नो मताधिकार प्रयोग गर्न आयोगले अनुरोध गरेको छ। साथै, ईभीएमको प्रयोगसम्बन्धी आवश्यक जानकारी मतदान स्थलमा खटिने स्वयंसेवक तथा निर्वाचन अधिकृतमार्फत उपलब्ध गराइने जनाइएको छ।

निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्दै शान्तिपूर्ण र सौहार्दपूर्ण वातावरणमा निर्वाचन सम्पन्न गर्न सम्पूर्ण उम्मेदवार तथा प्रतिनिधिलाई आयोगले अपिल गरेको छ। रास्वपाको केन्द्रीय निर्वाचन आयोगले निर्वाचन प्रक्रियालाई सफल, पारदर्शी र व्यवस्थित बनाउन सबै पक्षको सहयोग आवश्यक रहेको उल्लेख गर्दै स्थगित भएको निर्वाचनलाई निर्धारित कार्यतालिकाअनुसार सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।