काठमाडौं, जेठ २९ । नेकपाका सांसद वर्षमान पुनले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सार्वजनिक लेखा समितिको बैठकमा दिएको अभिव्यक्तिले संसद् र संसदीय समितिको अवमूल्यन गरेको बताउनुभएको छ। उहाँले विपक्षी सांसदहरूले ‘शङ्काको सुविधा’ दिँदै उठाएका प्रश्नको जवाफ दिने क्रममा अर्थमन्त्रीले धाक-धम्कीपूर्ण शैली अपनाएको टिप्पणी गर्नुभयो।
प्रतिनिधिसभाको शुक्रबारकाे बैठकमा बोल्दै सांसद पुनले प्रधानमन्त्रीले नेपाल–भारत सीमा सम्बन्धी विषयमा दिएको अभिव्यक्तिपछि अर्को जटिल विषय संसदमा प्रवेश गरेको उल्लेख गर्नुभयो। विशेष र शून्य समयमा विभिन्न विषय उठिरहेका बेला आर्थिक विधेयकमाथिको छलफलका क्रममा सार्वजनिक लेखा समितिको बैठकमा अर्थमन्त्री वाग्लेले प्रस्तुत गर्नुभएको धारणा आपत्तिजनक रहेको उहाँको भनाइ थियो। ‘हिजो आर्थिक विधेयकमाथिको छलफल भएको सार्वजनिक लेखा समितिको बैठकमा अर्थमन्त्रीज्यूले जसरी जवाफ दिनुभयो, त्यसले जनप्रतिनिधिमूलक सार्वभौम संसद्को अवमूल्यन भएको छ, धम्क्याउने कोसिस भएको छ’ पुनले भन्नुभयो।
उहाँले अर्थमन्त्रीले संसदीय समितिको गरिमा घटाउने र सांसदहरूलाई धम्क्याउने प्रयास गरेको बताउँदै यसप्रति आफ्नो दलको गम्भीर आपत्ति रहेको बताउनुभयो। कार्यपालिकाका प्रतिनिधिहरू संसद्प्रति जबाफदेही हुनुपर्नेमा जोड दिँदै पुनले सांसदहरूले उठाउने सबै विषयलाई आरोपका रूपमा बुझ्न नहुने धारणा राख्नुभयो। ‘सबै सांसदहरूले उठाएका विषयहरू आरोप हुँदैनन्, कतिपय जिज्ञासा हुन्छन्, कतिपय प्रश्न हुन्छन् र कतिपय स्पष्टीकरण खोज्ने विषय हुन्छन्,’ उहाँले भन्नुभयो।
सांसद पुनले तथ्य र विवरण प्रस्तुत गरेर मात्र जबाफदेहिताबाट उम्किन नसकिने बताउँदै अर्थमन्त्री वाग्लेले सात वटा करका दरहरू हेरफेर गरेको कुरा खुला रूपमा स्वीकार गरेको दाबी गर्नुभयो। ‘अर्थमन्त्रीले ७ वटा करका दर फेरेको हो भनेर खुल्लमखुल्ला स्विकार्नुभयो, यो आर्थिक अपराध हो’, पुनले भन्नुभयो ।
उहाँले अर्थमन्त्री माथि संसदीय छानबिन समिति बन्नु पर्नेमा जोड दिनुभयो । पुराना होइन यस पटक मात्र संसदमा आएका सांसदहरूबाट छानबिन आयोग बनाउनु पर्ने उहाँको माग छ ।
उहाँले प्रश्न उठाउने सांसदहरूको छानबिन हुँदै छ भनेर नधम्क्याउन अर्थमन्त्रीलाई चेतावनी दिनुभयो । उहाँले फाइल खोलेर देखाउन पनि अर्थमन्त्रीलाई चुनौती दिनुभयो ।













प्रतिक्रिया दिनुहोस्