जनता टाइम्स

२९ जेष्ठ २०८३, शुक्रबार १५:३०

गणतन्त्रका संवाहकलाई खलनायक र केही नगरेकालाई नायक बनाइयो : रामबहादुर थापा


काठमाडौं, जेठ २९ । नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापाले गणतन्त्र र लोकतन्त्रका संवाहक शक्तिलाई योजनाबद्ध रूपमा खलनायकका रूपमा चित्रित गर्ने प्रयास भइरहेको बताउनुभएको छ। उहाँले लोकप्रिय नाराको आडमा देशलाई गलत दिशातर्फ लैजाने गतिविधि बढेको बताउनुभयाे ।

शुक्रबार नेकपा एमाले बागमती प्रदेश संगठन कमिटीको बैठकलाई सम्बोधन गर्दै थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सामाजिक सञ्जाल, कृत्रिम बौद्धिकता (एआई) र अल्गोरिदमको प्रयोगमार्फत जनतालाई भ्रमित बनाएको दाबी गर्नुभयो। ‘रास्वपाले पपुलर नारा दियो, अल्गोरिदमको माध्यमबाट उसले जनतालाई भ्रमित बनायो, क्रान्तिकारीहरूलाई, गणतन्त्रका संवाहकहरूलाई, लोकतन्त्रका संवाहकहरूलाई हत्याराको रूपमा, खलनायकको रूपमा स्थापित गर्‍यो र जनताका लागि केही नगरेकाहरूलाई नायक बनाइदियो,’ थापाले भन्नुभयो।

उहाँले रास्वपाले आधुनिक प्रविधिको प्रभावकारी प्रयोग गर्दै अस्थायी रूपमा राजनीतिक सफलता हासिल गरे पनि त्यो दीर्घकालीन नहुने जिकिर गर्नुभयो। एमालेले आफ्ना कमजोरीहरूको समीक्षा गर्दै नयाँ नीति र दृष्टिकोणका आधारमा पार्टीलाई पुनर्गठन गर्नुपर्ने आवश्यकता उहाँले औँल्याउनुभयो। ‘अहिले अस्थायी रूपमा उनीहरू सफल भए। हाम्रा कमजोरीहरूलाई टेकेर उनीहरू सफल भए पनि यो सफलता अस्थायी हो। यसलाई अस्थायी बनाउनका लागि हामीले पार्टीलाई नयाँ नीतिको आधारमा पुनर्गठित गर्नुपर्छ,’ उहाँले भन्नुभयो।

उपाध्यक्ष थापाले वर्तमान सरकारमाथि स्वेच्छाचारिता र अधिनायकवादतर्फ उन्मुख भएको आरोप पनि लगाउनुभयो। जनताको संगठित हुने मौलिक अधिकारमाथि हस्तक्षेप भइरहेको, सुकुम्बासीमाथि दमन भइरहेको तथा लोकतान्त्रिक संस्थाहरूको गरिमा कमजोर बनाउने काम भइरहेको उहाँको भनाइ छ । ‘जनताको संगठित हुने मौलिक अधिकारहरूलाई उसले खोज्दै छ, उसले सुकुम्बासीहरूलाई दमन गर्दैछ,लोकतान्त्रिक संस्थाहरूको धज्जी उडाउँदैछ, उसले गणतन्त्रको धज्जी उडाउँदैछ। यसको अर्थ गणतन्त्रलाई समाप्त पार्न चाहन्छ,’ थापाकाे भनाइ छ ।

थापाले प्रधानमन्त्रीले आफ्नो सत्ता जोगाउन नेपाल–भारत सीमा सम्बन्धी विषयमा विवादास्पद अभिव्यक्ति दिएको दाबी गर्दै त्यसको राजनीतिक प्रभाव भारतमा समेत देखिएको टिप्पणी गर्नुभयो। उहाँले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई भारत भ्रमणका क्रममा गरिएको स्वागतलाई समेत राजनीतिक रूपमा अर्थपूर्ण रहेको बताउनुभयो। ‘स्वागत गरेको देख्नुभयो होला, एउटा प्रधानमन्त्री वा राष्ट्रपतिलाई झैँ पार्टीको अध्यक्षलाई भव्य स्वागत गरिएको छ, यसको राजनीतिक अर्थ के हो ? उनीहरू अहिलेको विद्यमान नेतृत्वसँग सन्तुष्ट छैनन्, अरू कसैलाई नेतृत्वमा स्थापित गर्न मद्दत गर्न चाहन्छन्,’ थापाले भन्नुभयो।