काभ्रे, जेठ ३० । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–२ बुच्चाकोटस्थित बी.पी. राजमार्गमा शुक्रबार भएको यात्रुवाहक बस दुर्घटनामा हालसम्म आठ जनाको मृत्यु भएको पुष्टि भएको छ। दुर्घटनामा घाइते भएका १६ जनामध्ये तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार बनेपाबाट रोशी गाउँपालिकाको खार्पाचोकतर्फ जाँदै गरेको बा.३ ख ८३९८ नम्बरको यात्रुवाहक बस बुच्चाकोटमा दुर्घटनामा परेको थियो। दुर्घटनापछि तत्काल उद्धार गरी घाइतेहरूलाई धुलिखेल अस्पताल पठाइएको थियो।
मृतक ८ मध्ये ६ जनाको सनाखत
प्रहरीका अनुसार दुर्घटनामा ज्यान गुमाउनेमध्ये काभ्रेको रोशी गाउँपालिका–६ का ४५ वर्षीय मेघबहादुर तामाङ, सोही स्थानकी ३४ वर्षीया फुलमाया तामाङ, ७५ वर्षीय इन्द्रबहादुर तामाङ तथा रोशी गाउँपालिका–८ की ६० वर्षीया प्यारीमाया तामाङको सनाखत भएको छ।
त्यसैगरी, दैलेख निवासी ३० वर्षीय बमबहादुर भण्डारीको पनि पहिचान भएको छ। उहाँ भकुण्डेबेँसीस्थित त्रिनेत्र दल गणमा कार्यरत नेपाली सेनाका अमलदार रहेको प्रहरीले जनाएको छ।
यस्तै, सिन्धुलीको घ्याङलेक गाउँपालिका–४ निवासी २२ वर्षीया सुमि तामाङको पनि सनाखत भएको छ। उहाँको पहिचान श्रीमान निराजन घिसिङले गर्नुभएकाे हाे ।
प्रहरीका अनुसार मृत्यु भएका अन्य दुई जनाको भने अझै सनाखत हुन सकेको छैन। तीमध्ये एक जना अन्दाजी ६० देखि ६५ वर्ष उमेरका पुरुष र अर्की अन्दाजी ६० देखि ६५ वर्ष उमेरकी महिला रहेका छन्।
१६ घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर
दुर्घटनामा परी १६ जना घाइते भएका छन्। उनीहरूमध्ये रोशी गाउँपालिका–७ का ६० वर्षीय डम्बरबहादुर शाह, रोशी गाउँपालिका–६ का ७७ वर्षीय सार्कीमान लामा तथा रोशी गाउँपालिका–६ की २२ वर्षीया बिबिमाया तामाङ को अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
घाइतेहरूको विवरण यस प्रकार रहेको छ :
रोशी–८ की २२ वर्षीया एनिशा तामाङ – हातखुट्टामा चोट, अवस्था मध्यम
रोशी–६ की २० वर्षीया विष्णु डोल्मो तामाङ – निधार, नाक र पेटमा चोट, अवस्था मध्यम।
रोशी–६ का ६० वर्षीय धनबहादुर तामाङ – टाउको र अनुहारमा चोट, अवस्था मध्यम।
रोशी–६ का ३० वर्षीय चन्द्र तामाङ – निधार तथा हातखुट्टामा चोट, अवस्था मध्यम।
रोशी–६ की १८ वर्षीया रमिता वाइवा – अनुहार र देब्रे खुट्टामा चोट, अवस्था मध्यम।
रोशी–६ का ४० वर्षीय मनब तामाङ – टाउको, अनुहार र ढाडमा चोट, अवस्था मध्यम।
रोशी–७ का ६० वर्षीय डम्बरबहादुर शाह – टाउको, दाहिने हात र खुट्टामा चोट, अवस्था गम्भीर।
- रोशी–८ का ४३ वर्षीय कृष्णबहादुर तामाङ – टाउको, मुख र दाहिने कोखामा चोट, अवस्था मध्यम।
- बर्दियाको बारबर्दिया नगरपालिका–१२ का २५ वर्षीय सुरेशबहादुर बादी – निधार र दाहिने खुट्टामा चोट, अवस्था मध्यम।
- बनेपा नगरपालिका–३ का ३४ वर्षीय घोया सिंह तामाङ – दाहिने खुट्टा भाँचिएको तथा दाहिने हातमा चोट, अवस्था मध्यम। उहाँ दुर्घटनाग्रस्त बसका चालक हुन्।
- रोशी–२ की ६२ वर्षीया विष्णुमाया लामा – टाउकोमा चोट, अवस्था मध्यम।
- तेमाल गाउँपालिका–८ का ४३ वर्षीय मनुराज तामाङ – टाउको, गर्दन र छातीमा चोट, अवस्था मध्यम।
- रोशी–६ निवासी बिबिमाया तामाङका ४ वर्षीय छोरा सुबास तामाङ – देब्रे खुट्टामा चोट, अवस्था मध्यम।
- मृतक सुमि तामाङका १८ महिनाका छोरा उग्रेन लामा – टाउकोमा चोट, अवस्था मध्यम।
- रोशी–६ का ७७ वर्षीय सार्कीमान लामा – टाउको र छातीमा चोट, अवस्था गम्भीर।
- रोशी–६ की २२ वर्षीया बिबिमाया तामाङ – टाउको तथा शरीरका विभिन्न भागमा चोट, अवस्था गम्भीर।
घाइते सबैको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ। चिकित्सकको निगरानीमा उनीहरूको स्वास्थ्य अवस्थाको निरन्तर मूल्याङ्कन भइरहेको प्रहरीले जनाएको छ।
दुर्घटनाको कारणबारे अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ। दुर्घटनापछि मृतकका आफन्त तथा स्थानीयवासी अस्पताल र प्रहरी कार्यालयमा पुगिरहेका छन्। बाँकी दुई मृतकको पहिचान खुलाउने प्रयास पनि जारी रहेको प्रहरीले जनाएको छ।













प्रतिक्रिया दिनुहोस्