जनता टाइम्स

१ असार २०८३, सोमबार १०:१६

अमृत घामछायाँ खेलकुद मैदानको स्तरोन्नति तीव्र,  ३४ लाखको लगानीमा पूर्वाधार विकास हुँदै


रामेछाप, असार १ । उमाकुण्ड गाउँपालिका–७ भुजीस्थित अमृत घामछायाँ खेलकुद मैदानको स्तरोन्नति कार्य तीव्र गतिमा अघि बढिरहेको छ। स्थानीय तहमा खेलकुद पूर्वाधारको विकास गर्दै युवालाई खेलकुद गतिविधितर्फ आकर्षित गर्ने उद्देश्यसहित मैदान स्तरोन्नतिको काम भइरहेको हो।

आर्थिक वर्ष २०८२/८३ का लागि यस आयोजनामा उमाकुण्ड गाउँपालिकाले रु २५ लाख तथा बागमती प्रदेश खेलकुद विकास परिषद्ले रु ९ लाख विनियोजन गरेका छन्। दुवै निकायको सहयोगमा कुल रु ३४ लाख बजेटमार्फत खेलमैदानको स्तरोन्नति तथा आवश्यक पूर्वाधार निर्माणको काम सञ्चालन गरिएको उमाकुण्ड गाउँपालिकाकाे शिक्षा, युवा तथा खेलकुद शाखाले जनाएको छ ।

उक्त बजेटबाट मैदानको आवश्यक संरचना सुधार, खेल गतिविधिका लागि उपयुक्त वातावरण निर्माण तथा खेलमैत्री पूर्वाधार विकासका काम भइरहेको जनाइएको छ। मैदानलाई व्यवस्थित र दीर्घकालीन रूपमा उपयोगी बनाउने लक्ष्यका साथ आगामी दिनमा निर्माण गरिने संरचनाको ड्राफ्ट डिजाइन समेत तयार गरिएको छ।

खेलमैदानको स्तरोन्नतिले भुजी क्षेत्रका युवालाई खेलकुदतर्फ आकर्षित गर्न महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ। यसले गाउँ स्तरमै खेल प्रतिभाको पहिचान, प्रोत्साहन तथा विकासमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

खेलकुद क्षेत्रको विकासले स्वस्थ समाज निर्माणसँगै अनुशासित र सृजनशील युवा पुस्ता तयार गर्न योगदान पुर्‍याउने विश्वास लिइएको छ। व्यवस्थित खेल पूर्वाधार निर्माणले भविष्यमा जिल्ला तथा प्रदेशस्तरीय प्रतियोगिता सञ्चालन गर्नसमेत सहज हुने स्थानीयको अपेक्षा रहेको छ।

सो खेल मैदानमा हरेक वर्ष राष्ट्रिय स्तरको फुटबल प्रतियोगिता हुँदै आएको छ । व्यवस्थित खले मैदान बने पछि खेल सञ्चालनमा थप सहयोग पुग्ने विश्वास लिइएको छ ।