बेइजिङ, असार २ । छिमेकी मित्रराष्ट्र चीनले नेपालको नीतिप्रति असन्तुष्टि जनाएको छ । चीन भ्रमणमा रहनुभएका परराष्ट्रमन्त्री शिशिर खनालसँगको भेटमा चिनियाँ विदेशमन्त्री वाङ यीले ‘टाढाको आफन्त भन्दा नजिकको छिमेकी राम्रो’ हुने भन्दै कुटनीतिक रुपमा असन्तुष्टि जनाउनु भएको हो ।
प्रधानमन्त्री बालेन्द्र शाहले संसदमा चीनको बिषयमा दिनुभएको अभिब्यक्तिले चीन बिच्किएको अर्थमा यस भनाईलाई लिइएको छ । सोमबार चीनको राजधानी बेइजिङमा भएको भेटवार्तामा वाङले नेपाल र चीन वर्षौंदेखि असल छिमेकी रहेको स्मरण गर्दै नेपालको लागि विकास, समृद्धि र आधुनिकीकरणको यात्रामा भरपर्दो छिमेकी तथा साझेदार रहने बताउनु भयो ।
नेपाल र चिनियाँ समकक्षीबीच भएको भेटबारे चिनियाँ विदेश मन्त्रालयले गएराति अबेर लेखेको छ, ‘वाङ यीले “टाढाको आफन्तभन्दा नजिकको छिमेकी राम्रो” भन्ने उक्ति उद्धृत गर्दै चीन नेपालका लागि विकास, समृद्धि र आधुनिकीकरणको यात्रामा सधैं भरपर्दो छिमेकी र साझेदार रहने बताएका थिए ।’
इतिहास र यथार्थले चीन–नेपाल मित्रता नेपाल राष्ट्र, नेपाली जनता तथा राष्ट्रिय हितका लागि लाभदायक रहेको प्रमाणित गरेको भन्दै वाङले चीनले नेपालसँगको सम्बन्धलाई आफ्नो छिमेकी कूटनीतिको महत्वपूर्ण स्थानमा राखेको जानकारी पनि गराउनु भएको थियो । यस्तै नेपाली जनताप्रतिको मैत्रीपूर्ण नीति सदा निरन्तर रहने प्रतिवद्धता पनि वाङले जनाउनु भएको छ ।
छलफलमा विदेशमन्त्री वाङले चीन र नेपाल पहाड–नदीले जोडिएका तथा साझा भविष्य भएका छिमेकी राष्ट्र रहेको भन्दै कूटनीतिक सम्बन्ध स्थापना भएयता अन्तर्राष्ट्रिय परिस्थिति वा नेपालको आन्तरिक राजनीतिक अवस्थामा जस्तोसुकै परिवर्तन आए पनि दुवै देशले शान्तिपूर्ण सहअस्तित्वका पाँच सिद्धान्तलाई अवलम्बन गर्दै द्विपक्षीय सम्बन्धलाई निरन्तर अगाडि बढाएको स्मरण गर्नुभयो ।
चीनले नेपालको राष्ट्रिय सार्वभौमिकता, स्वतन्त्रता र भौगोलिक अखण्डताको रक्षा गर्न सधैं समर्थन गर्ने, नयाँ नेपाली सरकारलाई जनसमर्थनका साथ सफलतापूर्वक शासन सञ्चालन गर्न सहयोग गर्ने तथा नेपालको राष्ट्रिय परिस्थितिअनुकूल विकास मार्गको खोजीलाई समर्थन गर्ने उहाँको भनाई थियो ।
‘एक चीन नीति’ प्रति दृढ प्रतिबद्धता जनाउँदै ताइवान तथा तिब्बतसँग सम्बन्धित चीनका मूल हितका विषयमा निरन्तर समर्थन गरेको भन्दै विदेशमन्त्री वाङले नेपालको प्रशंसा पनि गर्नुभएको छ । उहाँले उच्च गुणस्तरको ‘बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई)’ अन्तर्गत विद्युत् प्रसारण सञ्जाल, सडक, नाका तथा हवाई यातायातलगायत क्षेत्रमा सहकार्य विस्तार गरी नेपाललाई सहयोग गर्ने प्रतिबद्धता समेत जनाउनु भएको छ ।
यस्तै वाङले चीनले आफ्ना कम्पनीहरूलाई नेपालमा लगानी गर्न प्रोत्साहन गर्ने र नेपालले थप निष्पक्ष, पारदर्शी तथा अनुकूल व्यावसायिक वातावरण उपलब्ध गराउने अपेक्षा गरेको बताउनु भयो । साथै, दुवै देशले बहुपक्षीय मञ्चहरूमा सहकार्य सुदृढ गरी विकासशील राष्ट्रहरूको साझा हितको संरक्षण गर्नुपर्नेमा जोड दिनुभएको थियो ।
सन् २०१९ मा चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणका क्रममा दुवै देशले विकास र समृद्धिमुखी पुस्तौँसम्मको मैत्रीपूर्ण रणनीतिक सहकार्य साझेदारी स्थापना गरेको स्मरण गर्दै यसले चीन–नेपाल सम्बन्धलाई थप उचाइमा पुर्याउने साझा दिशा निर्धारण गरेको भन्दै नेपालले यस बिषयमा ध्यान दिनुपर्ने सुझाव राख्नुभयो ।













प्रतिक्रिया दिनुहोस्