काठमाडौं, असार २ । बालेन शाह नेतृत्वको सरकारले हचुवाका भरमा अध्ययनबिना नै सनकको भरमा बजेट छुट्याएको भन्दै सत्तारुढ रास्वपाकै सांसदहरु आक्रोशित बन्न थालेका छन ।
मंगलवार रास्वपाका सांसद हरिप्रसाद भुसालले संसद बैठकको रोष्टममै आक्रोशित बन्नुभएको हो । दुई अर्ब लागत अनुमान भएको सडकलाई सरकारले ५ करोड बजेट छुट्ट्याएपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरिप्रसाद भुसाल निकै रिसाउनु भएको छ ।
प्रतिनिधि सभा बैठकमा विनियोजन विधेयकमाथि मन्त्रालयगत बजेटमाथिको छलफलमा भुसालले अर्घाखाँचीको सन्धीखर्क गोरुसिङ्गे सडकलाई बजेट कम दिएको भन्दै उहाँले सरकारले यो के गरेको भन्दै असन्तुष्टि जनाउनु भयो ।
‘मैले टोलैपिच्छे योजना मागेको थिइनँ। निर्माणाधीन अर्घाभगवती विमानस्थललाई गौचरण बन्न नदिन अनुरोध गरेको थिएँ । बर्सेनी साँघुरा सडकका कारणका सन्धीखर्क गोरुसिङ्गे सडकमा दुर्घटना हुने गरेका कारण दुई लेनमा स्तरोन्नति गर्न माग गरेको थिएँ। करिब २ अर्ब लागत भएको उक्त सडकका लागि यस वर्षका लागि ५ करोड मात्र विनियोजन गरिएछ। यही गतिले जाने हो भने एउटा सडक सम्पन्न गर्न ४ दशक कुर्नुपर्ने देखियो। यो कसरी स्वीकार हुन सक्छ ?’ सांसद भुसालले प्रतिनिधि सभाको बैठकमा भन्नुभयो ।
उहाँले जिल्लाका प्रमुख र रणनीतिक सडकलाई सुहाउँदो बजेट दिन आफूले आग्रह गरेको तर सरकारले उल्टो काम गरिदिएको भन्दै असन्तुष्टि जनाउनु भयो । ‘बजेट अघि प्रधानमन्त्रीसँगको सामूहिक भेटमा सहभागी हुने अवसर प्राप्त भएको थियो। त्यसक्रममा अर्घाखाँचीको महत्वपूर्ण योजनाबारे ध्यानाकर्षण गराइएको थियो। सम्बन्धित मन्त्रालय र सचिवालयले आश्वस्त पारेपछि जिल्लाबासीहरूलाई यसपटक योजना पर्छन्, यो यो पर्छन् भनेर विश्वास पनि दिलाएका थियौँ,’ आक्रोशित हुँदै सांसद भुसालले भन्नुभयो, ‘तर बजेट आएपछि धेरै योजना समेटिएनन्। अहिले जिल्लामा जनताले सोधिरहनुभएको छ–तपाईंले भनेका योजना खै, कहाँ गए ?’
भुसाल यतिमै रोकिनुभएन । उहाँले थप्नुभयो, ‘सरकारलाई प्रश्न छ–अब हामीले जनतालाई के जवाफ दिने हो ? जिल्लाका प्रमुख र रणनीतिक सडकलाई सुहाउँदो बजेट दिन आग्रह गरेको थिएँ। तर सालझण्ढी ढोरपाटन सडक बाहेक अरू सडकलाई बहिष्करणमा पारियो।’
सांसद भुसालले सरकारलाई दुर्गम जिल्लाप्रतिको संवदेशिलता बढाउन आग्रह गर्नुभयो । ‘बजेट शक्तिकेन्द्रको वरिपरि घुम्यो भनेर आरोप लगाउन म चाहन्नँ,ु भुसालले भने, ुतर सरसर्ती राता किताब हेर्दा र पढ्दा शंका गर्न प्रशस्त ठाउँ छन ।’ अर्घाखाँचीका सांसद भुसाल बैठकमा बोलिरहँदा अनिवार्य उपस्थित हुनुपर्ने भौतिक पूर्वाधार मन्त्री सुनिल लम्साल भने बैठकमा नै सहभागी हुनुभएको थिएन ।













प्रतिक्रिया दिनुहोस्