काठमाडौं, असार २ । नेकपा (एमाले) का नेता तथा पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले राजनीतिक दलहरू आफ्ना आन्तरिक विषयमा केन्द्रित भइरहेका बेला मुलुकका गम्भीर राष्ट्रिय मुद्दाहरू ओझेलमा पर्न नहुने बताउनुभएको छ ।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उहाँले नेकपा (एमाले) र नेपाली कांग्रेसजस्ता लोकतान्त्रिक पार्टीहरू केही आन्तरिक चुनौतीसँग जुधिरहेको उल्लेख गर्नुभएको छ । पार्टीभित्र नीति, निर्णय, सङ्गठन, कार्यशैली र नेतृत्वका विषयमा मतान्तर देखिनु स्वाभाविक प्रक्रिया भएको उल्लेख गर्दै उहाँले ती समस्याको समाधान विधिसम्मत् ढङ्गबाट हुनुपर्नेमा जोड दिनुभएको छ । ‘लोकतान्त्रिक पार्टीहरूभित्र नीति, निर्णय, सङ्गठन, शैली र नेतृत्वका बारेमा मतान्तर वा विमतिहरू देखिनु अस्वाभाविक होइन । यी समस्याको समाधानका आफ्नै विधिहरू छन्,’ उहाँले भन्नुभएको छ, ‘आशा छ, समस्याहरू विधिसम्मत् ढङ्गले समाधान हुनेछन् र पार्टीहरूको आन्तरिक एकता थप सुदृढ हुनेछ ।’
तर, आन्तरिक बहसकै बीच मुलुकले सामना गरिरहेका चुनौतीहरूलाई बेवास्ता गर्न नहुने उहाँको भनाइ छ । नेपाल गम्भीर भूराजनीतिक जटिलतातर्फ धकेलिँदै गएको दाबी गर्दै उहाँले सीमामा चिया निकासी रोकिँदा हजारौँ श्रमिक र सयौँ उद्यमी सङ्कटमा परेको, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीका समस्या समाधान हुन नसकेको तथा कृषकहरूले मल अभावको समस्या झेलिरहेको विषय उठाउनुभएको छ ।
उहाँले धान रोपाइँको समयमा पनि मल अभाव यथावत् रहेको, बजारमा महँगी बढ्दै गएको तथा जनजीविकासँग प्रत्यक्ष सरोकार राख्ने विषयहरूमा सरकार पर्याप्त संवेदनशील देखिन नसकेको टिप्पणी गर्नुभएको छ ।
प्रधानमन्त्रीप्रति संकेत गर्दै उहाँले सरकार जनताका वास्तविक समस्याभन्दा टाढा रहेको आरोप लगाउनुभएको छ । ‘यी सबै कुरामा बेखबर हाम्रा बिन्दास प्रधानमन्त्री “जिस्किँदै” हुनुहुन्छ,’ उहाँले सामाजिक सञ्जालमा लेख्नुभएको छ ।
त्यस्तै, उहाँले लोकतान्त्रिक संस्थाहरूको भूमिका कमजोर बनाउने प्रवृत्तिप्रति पनि चिन्ता व्यक्त गर्नुभएको छ । राष्ट्रपति संस्थाको अपमान, संसद्को अवमूल्यन, मतदाताप्रति उपेक्षा, आफ्नै पार्टीप्रतिको बेवास्ता, लोकतान्त्रिक अधिकारहरूको सङ्कुचन, संवैधानिक अङ्गमाथिको हस्तक्षेप तथा राजनीतिक प्रतिशोधका गतिविधिले मुलुकलाई अलोकतान्त्रिक दिशातर्फ धकेल्न सक्ने उहाँको चेतावनी छ । ‘समग्रमा, मुलुक अलोकतान्त्रिक खोँचतिर धकेलिँदै छ,’ उहाँले उल्लेख गर्नुभएको छ ।
उहाँले राजनीतिक दलहरूलाई आफ्ना आन्तरिक विषयमा छलफल गरिरहँदा जनतासँग प्रत्यक्ष सम्बन्धित राष्ट्रिय मुद्दाहरूलाई प्राथमिकतामा राख्न आग्रह गर्नुभएको छ । जनताले दलभित्रका शक्ति समीकरणभन्दा देशको अर्थतन्त्र, सुशासन, लोकतान्त्रिक अभ्यास र दैनन्दिन जीवनसँग सम्बन्धित विषयमा बढी चासो राख्ने उहाँको धारणा छ । ‘आफ्ना आन्तरिक विषयमा बहस गरिरहेको बेला यी राष्ट्रिय मुद्दाहरू र यिनीहरूप्रतिको हाम्रो दायित्व ओझेलमा नपरोस् भनेर ध्यान दिनैपर्छ,’ उहाँले भन्नुभएको छ, ‘जनतालाई हाम्रा आन्तरिक एजेण्डामा भन्दा माथिका मुद्दामा बढी चासो छ ।’













प्रतिक्रिया दिनुहोस्