रामेछाप, जेठ ३ । रामेछापको लिखु तामाकोसी गाउँपालिका–२ सैपुमा एक दिने कानुनी सचेतना कार्यक्रम सम्पन्न भएको छ ।
लिखु तामाकोसी गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाको प्रायोजन तथा सगरमाथा सामुदायिक अध्ययन तथा सिकाइ केन्द्रको आयोजनामा कार्यक्रम सञ्चालन गरिएको हो ।
कार्यक्रममा जनप्रतिनिधिहरु, वडाभित्र रहेका विद्यालयका प्रधानाध्यापक, महिला स्वास्थ्य स्वयंसेविका, विद्यार्थी, मेलमिलापकर्ता, सामाजिक अगुवा तथा स्थानीयवासीको सहभागिता रहेको थियो ।

कार्यक्रमको उद्देश्य नागरिकलाई वडा कार्यालयबाट प्रवाह हुने सेवा, सामुदायिक मेलमिलापको प्रक्रिया तथा सार्वजनिक जीवनसँग सम्बन्धित अत्यावश्यक कानुनी व्यवस्थाबारे जानकारी गराउनु रहेको वडाध्यक्ष सन्तोष पौडेलले बताउनुभयो । उहाँका अनुसार यस्ता सचेतनामूलक कार्यक्रमले नागरिकलाई सेवा प्राप्त गर्न तथा सेवा प्रदायक निकायलाई प्रभावकारी रूपमा सेवा प्रवाह गर्न सहज वातावरण सिर्जना गर्ने विश्वास लिइएको छ । ‘नागरिकले आफ्नो अधिकार, दायित्व र कानुनी प्रक्रियाबारे जानकारी प्राप्त गरेपछि स्थानीय तहबाट प्रदान गरिने सेवाको उपयोग पनि प्रभावकारी हुन्छ,’ वडाध्यक्ष पौडेलले भन्नुभयो, ‘यसले समुदायमा आपसी समझदारी र मेलमिलापको संस्कृतिलाई समेत बलियो बनाउँछ ।’
सगरमाथा सामुदायिक अध्ययन तथा सिकाइ केन्द्रका अध्यक्ष यामबहादुर तामाङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सहभागीहरूले दैनिक जीवनमा उपयोगी हुने धेरै व्यावहारिक तथा कानुनी विषयवस्तु सिक्न पाएको प्रतिक्रिया दिनुभयाे ।
स्थानीय तहको सेवा प्रवाहलाई थप प्रभावकारी बनाउनुका साथै समुदायमा कानुनी सचेतना अभिवृद्धि गर्ने उद्देश्यले यस्ता कार्यक्रमहरू निरन्तर सञ्चालन गर्नुपर्ने आवश्यकता सहभागीहरूले औँल्याएका थिए ।













प्रतिक्रिया दिनुहोस्