काठमाडौं, असार ४ । नेपाली चिया निर्यातमा देखिएको समस्याका कारण झापाका चिया बगान तथा उद्योगहरू भोलिदेखि अनिश्चितकालका लागि बन्द हुने भएका छन्।
भारतीय चिया बोर्डले लागू गरेको नयाँ नियम ‘स्ट्यान्डर्ड अपरेटिङ प्रोसेजर’ (एसओपी) का कारण नेपाली चिया भारततर्फ निर्यात हुन नसकेपछि उद्योगहरू गम्भीर सङ्कटमा परेको भन्दै उद्योगीहरूले यस्तो निर्णय गरेका हुन्।
नेपाल चिया उत्पादक सङ्घ झापाले बुधबार भद्रपुरमा पत्रकार सम्मेलन आयोजना गर्दै चिया उद्योग र चिया बगान बन्द गर्ने निर्णय सार्वजनिक गरेको हो। सङ्घका अनुसार भारतीय पक्षले लागू गरेको नयाँ व्यवस्थाले नेपाली चियाको निर्यात प्रक्रिया प्रभावित बनेको छ, जसका कारण उत्पादन, बिक्री तथा भुक्तानी चक्र नै अवरुद्ध हुन पुगेको छ।
सङ्घले नेपालमा उत्पादित सिटिसी तथा अर्थोडक्स चियाको वार्षिक कारोबार करिब १२ देखि १४ अर्ब रुपैयाँ रहेको जनाएको छ। त्यसमध्ये करिब ५ अर्ब रुपैयाँ बराबरको चिया भारत निर्यात हुँदै आएको छ। भारत नेपाली चियाको प्रमुख बजार भएकाले निर्यात अवरुद्ध हुँदा समग्र चिया उद्योग नै संकटमा परेको उद्योगीहरूको भनाइ छ।
उद्योगीहरूले सरकारले तत्काल कूटनीतिक तथा व्यापारिक पहल गरी समस्या समाधान गर्नुपर्ने माग गरेका छन्। साथै भारतमा निर्भरता घटाउन बङ्गलादेश, पाकिस्तान तथा अन्य तेस्रो मुलुकमा नेपाली चियाको बजार विस्तारका लागि आवश्यक पहल गर्न सरकारसँग आग्रह गरेका छन्।
नेपालको चिया क्षेत्रमा करिब ६० हजार श्रमिक तथा कर्मचारी प्रत्यक्ष रूपमा आबद्ध रहेको बताउँदै सङ्घले उद्योग बन्द हुँदा हजारौं श्रमिकको रोजगारी र जीविकोपार्जनमा प्रत्यक्ष असर पर्ने चेतावनी दिएको छ।
उद्योगीहरूले समस्या समाधानका लागि सम्बन्धित निकायसँग पटक–पटक ध्यानाकर्षण गराए पनि ठोस पहल नभएको गुनासो गरेका छन्। उनीहरूले नेपाली चिया उद्योगलाई जोगाउन सरकारको तत्काल हस्तक्षेप आवश्यक रहेको बताएका छन्।
झापा, इलाम, पाँचथर लगायत पूर्वी नेपालका जिल्लामा उत्पादित चिया नेपाली कृषिजन्य निर्यातको प्रमुख वस्तुमध्ये एक मानिन्छ। भारततर्फ हुने निर्यातमा अवरोध आएपछि चिया उद्योगी, किसान तथा श्रमिक सबै प्रभावित हुने अवस्था सिर्जना भएको छ।













प्रतिक्रिया दिनुहोस्