जनता टाइम्स

३ असार २०८३, बुधबार १७:०३

कोशीमा एमालेको ‘पार्टी जागरण अभियान’ सुरु, संगठनलाई टोल–टोलसम्म सक्रिय बनाउने याेजना 


विराटनगर, असार ३ । नेकपा (एमाले) कोशी प्रदेश कमिटीको आयोजनामा मोरङको विराटनगरमा ‘पार्टी जागरण अभियान’ सम्बन्धी प्रदेशस्तरीय अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। पार्टी संगठनलाई थप सुदृढ, गतिशील र जनमुखी बनाउने उद्देश्यका साथ आयोजित कार्यक्रममा कोशी प्रदेशका विभिन्न जिल्लाका नेता तथा कार्यकर्ताको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रममा प्रदेश कमिटीका पदाधिकारी, केन्द्रीय सदस्य, जिल्ला नेतृत्व तथा अगुवा कार्यकर्ताहरू सहभागी भएका थिए। अभियानमार्फत पार्टीको नीति, सिद्धान्त र आगामी कार्यदिशाबारे कार्यकर्तालाई स्पष्ट जानकारी गराउँदै संगठनलाई टोल तथा वडा तहसम्म प्रभावकारी रूपमा परिचालन गर्ने विषयमा विशेष जोड दिइएको थियो।

अभिमुखीकरण कार्यक्रममा ‘पार्टी जागरण अभियान’ लाई प्रभावकारी बनाउन प्रदेशका सबै जिल्ला, निर्वाचन क्षेत्र र स्थानीय तहमा सञ्चालन गरिने कार्यक्रम तथा गतिविधिबारे विस्तृत कार्ययोजनामाथि छलफल गरिएको थियो। अभियानलाई जनस्तरसम्म पुर्‍याउन संगठनात्मक सक्रियता, जनसम्पर्क विस्तार र पार्टीप्रति जनविश्वास बढाउने रणनीतिबारे समेत सहभागीहरूलाई जानकारी गराइएको थियो।

कार्यक्रममा वर्तमान राजनीतिक परिस्थिति, सुशासन, विकास निर्माण तथा जनसरोकारका विषयमा नेकपा (एमाले) ले निर्वाह गर्नुपर्ने नेतृत्वदायी भूमिकाबारे विशेष अभिमुखीकरण गरिएको थियो। वक्ताहरूले पार्टीले अघि सारेका नीति, कार्यक्रम र राष्ट्रिय आकांक्षालाई सफल बनाउन कार्यकर्ताहरू जनताको बीचमा थप सक्रिय रूपमा परिचालित हुनुपर्नेमा जोड दिएका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै नेताहरूले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकांक्षा पूरा गर्न बलियो संगठन र सक्रिय कार्यकर्ता अपरिहार्य रहेको बताएका थिए। उनीहरूले पार्टी जागरण अभियानलाई केवल संगठनात्मक कार्यक्रमका रूपमा नभई जनतासँगको सम्बन्ध सुदृढ गर्ने अवसरका रूपमा उपयोग गर्न आग्रह गरेका थिए।

‘सुदृढ संगठन, समृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्ने संकल्पका साथ यो जागरण अभियान कोशी प्रदेशका कुना–काप्चासम्म पुग्ने विश्वास लिइएको छ,’ कार्यक्रममा सहभागी नेताहरूले बताउनु भएकाे छ । नेताहरूले पार्टीले तय गरेको मिसनलाई सफल बनाउन सम्पूर्ण कार्यकर्तालाई उच्च मनोबलका साथ जनतामाझ जान, जनभावना बुझ्न र पार्टीका नीति तथा कार्यक्रमलाई प्रभावकारी ढंगले प्रचारप्रसार गर्न आह्वान गरेका थिए।

कार्यक्रम उत्साहजनक, ऊर्जावान् र अनुशासित वातावरणमा सम्पन्न भएको आयोजकले जनाएको छ। एमालेले देशव्यापी रूपमा सञ्चालन गर्न लागेको ‘पार्टी जागरण अभियान’ अन्तर्गत कोशी प्रदेशमा संगठन विस्तार र कार्यकर्ता परिचालनलाई विशेष प्राथमिकता दिइएको बताइएको छ।