जनता टाइम्स

४ असार २०८३, बिहीबार ०७:२१

हिमाली गाउँका विद्यार्थीलाई विद्यालयमै खाना, डे बोर्डिङ कार्यक्रमले पढाइमा सकारात्मक सुधार


रामेछाप, असार ४ । रामेछापको उत्तरी हिमाली भेगकाे उमाकुण्ड गाउँपालिका–१ गुम्देलस्थित अन्तिम मानव बस्ती लाहाछेवारका विद्यार्थीहरूका लागि विद्यालयमै खानाको व्यवस्था गरिएको छ। दुर्गम क्षेत्रमा रहेका बालबालिकाको नियमित पठनपाठनलाई प्रभावकारी बनाउन श्री हिमालय आधारभूत विद्यालयमा डे बोर्डिङ (Day Boarding) कार्यक्रम सञ्चालन गरिएको हो।

विद्यालयका प्रधानाध्यापक पोटराज घिमिरेका अनुसार कार्यक्रमअन्तर्गत विद्यार्थीहरूलाई विद्यालयमै दिवा भोजनको व्यवस्था गरिएको छ। बिहान विद्यालय आएका विद्यार्थीहरू दिनभर अध्ययन तथा विभिन्न शैक्षिक गतिविधिमा सहभागी हुने र साँझ घर फर्किने व्यवस्था मिलाइएको उहाँले जानकारी दिनुभयो।

प्रधानाध्यापक घिमिरेका अनुसार शिक्षकहरूलाई समेत विद्यालयमै बस्ने व्यवस्था गरिएकाले पठनपाठन नियमित, व्यवस्थित र प्रभावकारी बनेको छ। ‘विद्यार्थीहरूलाई विद्यालयमै खाना उपलब्ध गराउन थालेपछि उनीहरूको नियमित उपस्थितिसँगै सिकाइमा पनि उल्लेखनीय सुधार आएको छ,’ उहाँले बताउनुभयो।

विद्यालय प्रशासनका अनुसार डे बोर्डिङ कार्यक्रम सञ्चालन भएपछि विद्यार्थीहरूको सिकाइ उपलब्धि, कक्षा सहभागिता, अनुशासन तथा विद्यालयप्रतिको आकर्षणमा सकारात्मक परिवर्तन देखिएको छ। अभिभावकहरू पनि यस कार्यक्रमप्रति उत्साहित रहेको विद्यालयले जनाएको छ।

हाल श्री हिमालय आधारभूत विद्यालयमा २ जना शिक्षक, १ जना कर्मचारी तथा ९ जना विद्यार्थी छन्। सीमित स्रोतसाधनका बाबजुद दुर्गम हिमाली बस्तीका बालबालिकालाई गुणस्तरीय शिक्षा उपलब्ध गराउने उद्देश्यले विद्यालयले डे बोर्डिङ कार्यक्रमलाई निरन्तरता दिएको जनाएको छ। विद्यालयलाई आवासिय बनाउन गउँपालिकासँगै विभिन्न सहयाेगी दाताहरुले पनि सहयाेग गर्दै आउनु भएकाे छ ।

कक्षा ५ उत्तीर्ण गरेपछि यस विद्यालयका विद्यार्थीहरूले उमाकुण्ड गाउँपालिका–१ गुम्देलस्थित श्री महालंगुर माध्यमिक विद्यालयको छात्रावासमा बसेर थप अध्ययन गर्ने व्यवस्था रहेको विद्यालयले जनाएको छ।

दुर्गम हिमाली क्षेत्रमा विद्यालयमै भोजन, नियमित पठनपाठन र शिक्षकको आवासीय व्यवस्थासहित सञ्चालन गरिएको यो कार्यक्रम ग्रामीण तथा विकट क्षेत्रका विद्यार्थीलाई विद्यालयसँग जोडिराख्ने प्रभावकारी नमुनाका रूपमा हेरिएको छ। विद्यालय सञ्चालन तथा व्यवस्थापनमा प्रधानाध्यापक पोटराज घिमिरेको महत्त्वपूर्ण भूमिका रहेको स्थानीयवासीले बताएका छन्।