जनता टाइम्स

४ असार २०८३, बिहीबार १८:५६

यातायात कार्यालयमा भेटिएन हर्क साम्पाङको लाइसेन्स


इटहरी, असार ४ । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङको सवारी चालक अनुमति पत्र (लाइसेन्स) फेला नपरेको यातायात कार्यालयले जानकारी दिएको छ ।

दुई साताअघि दुर्घटनामा परेका श्रम संस्कृतिका अध्यक्ष साम्पाङको लाइसेन्सको बिषयमा प्रहरीले अनुसन्धान अघि बढाएपछि यातायात कार्यालयले यस्तो जानकारी दिएको हो । हर्कको लाइसेन्सको विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ । कोशी प्रदेशस्तरीय राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, इटहरीले साम्पाङको लाइसेन्सबारे अनुसन्धान गर्दा अहिलेसम्म फेला पार्न सकेको छैन ।

साम्पाङ जेठ २२ गते उदयपुरमा मोटरसाइकल दुर्घटनामा पर्नुभएको थियो । साम्पाङ बागमती प्रदेश ०२–६० प ०२५९ नम्बरको मोटरसाइकल हेल्मेटबिना लापरबाहीपूर्वक चलाउँदा दुर्घटनामा पर्नुभएको थियो । त्यसपछि उहाँलाई ट्राफिक प्रहरीले जरिवाना तिराउने निर्णय गरेको थियो । त्यतिबेला लापरबाहीपूर्ण ढंगले मोटरसाइकल चलाएको खुलेपछि लाइसेन्सबारे अनुसन्धान गरिएको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, इटहरीले जनाएको हो ।

‘अहिलेसम्म लाइसेन्स भएको प्रमाण फेला पर्न सकेको छैन । माननीयसँग लाइसेन्स नभए त्यसमा जरिवाना लिइनेछ,”’ ” ट्राफिक प्रहरी कार्यालय इटहरीका एसपी दीपक गिरीले भन्नुभयो । हर्कको लाइसेन्स भए–नभएको यकिन गर्न प्रहरीले यातायात कार्यालय, कोशीको लाइसेन्स विभागमा पत्राचार गरेर रेकर्ड हेर्दा पनि फेला पर्न सकेको छैन । लाइसेन्सबिना सवारी चलाउनु गैरकानुनी मानिन्छ ।

यातायात कार्यालय, लाइसेन्स विभागका प्रमुख निर्मल मानन्धरका अनुसार हर्कबहादुर राईको हालको नागरिकता नम्बरका आधारमा लाइसेन्स जाँच गर्दा कुनै विवरण फेला परेको छैन । यातायात कार्यालयको अहिलेको डिजिटल प्रणालीमा रेकर्ड नभेटिएको मानन्धरको भनाई छ । पुरानो कागजी ढड्डा रेकर्ड भने भदौ २३ र २४ गते भएको जनजीविका आन्दोलनका क्रममा आगजनी हुँदा जलेर नष्ट भइसकेको छ ।

निर्णयबमोजिम राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, इटहरीले उपत्यका ट्राफिक प्रहरी कार्यालय, काठमाडौंलाई जरिवाना लिनका लागि रसिद पठाएको छ । एसपी गिरीका अनुसार घटना भएको भोलिपल्टै साम्पाङ काठमाडौं गएको जानकारी पाएपछि उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई रसिद पठाइएको छ ।