जनता टाइम्स

४ असार २०८३, बिहीबार २०:३३

प्रधानमन्त्रीको समर्थनबिनै संसदबाट पारित भयो आगामी आर्थिक वर्षको बजेट


काठमाडौं, असार ४ । आगामी आर्थिक वर्षको बजेट प्रतिनिधिसभाबाट पारित भएको छ । बिहीबार प्रतिनिधिसभामा सभामुख डोलप्रसाद अर्यालले बजेट पारित भएको घोषणा गरे ।

बजेटमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ अर्थमन्त्री डा= स्वर्णिम वाग्लेले दिनुभएको थियो । अर्थमन्त्री वाग्लेले राखेको ‘विनियोजन विधेयक, २०८३ लाई पारित गरियोस्’ भन्ने प्रस्ताव बहुमतबाट पारित भएको हो ।

त्यसअघि सभामुख अर्यालले उक्त विधेयकका दुईदेखि ११ सम्मका दफालाई निर्णयार्थ प्रस्तुत गर्नुभएको थियो । सांसदहरू कृपाराम राना, पार्वती विक, जोगकुमार बरबरिया यादव, सन्तोष सुब्बा, नीता घतानी, परशुराम तामाङ, अर्जुनकुमार कार्की, नरेन्द्रकुमार केरुङ, रमेशकुमार मल्ल, साजिदा खातुन सिद्धिकी, युवराज दुलाल, एशुदाकुमारी बराल, गुरुप्रसाद बराल, मोहमद इस्तियाक राई, बलावती शर्मा, विष्णुमाया विक, यज्ञबहादुर बोगटी, ऐनबहादुर महर, पुष्पराज कँडेल र पद्माकुमारी अर्यालले विनियोजन शीर्षकमा राख्नुभएको खर्च कटौतीको प्रस्ताव सभाको बहुमतले अस्वीकृत गरेको थियो ।

अर्थमन्त्री डा वाग्लेले गत जेठ १५ गते संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८३–८४ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत गर्नुभएको थियो । विनियोजन विधेयकका मन्त्रालयत शीर्षकमाथि यही असार १ र २ गते सभामा छलफल भएको थियो ।

बजेट पारित हुँदा प्रधानमन्त्री बालेन्द्र शाह सदनमा उपस्थित हुनुभएको थिएन । उहाँ बजेटमाथिको छलफलमा पनि सहभागी हुनुभएन । सोही कारण सांसदहरुले प्रधानमन्त्रीको ‘समर्थनबिनै बजेट पारित भएको’ भन्दै सरकारमाथि ब्यंग्य कसेका छन ।