बुटवल, असार ४। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बढ्दो सवारी दुर्घटना न्यूनीकरणका लागि विशेष योजना तयार गरी प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने बताउनुभएको छ।
लुम्बिनी प्रदेश स्तरीय ट्राफिक व्यवस्थापन समीक्षा गोष्ठी–२०८३ को बिहीबार बुटवलमा उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले विशेषगरी मानवीय त्रुटि, लापरबाही तथा ट्राफिक नियमको पालना नगर्दा सडक दुर्घटनाको संख्या बढिरहेको उल्लेख गर्दै त्यसको नियन्त्रणका लागि योजनाबद्ध ढङ्गले काम गर्नुपर्नेमा जोड दिनुभयो।
उहाँले सडक सुरक्षा र सुरक्षित यात्रालाई प्रदेश सरकारको उच्च प्राथमिकतामा राखिएको उल्लेख गर्दै दुर्घटना न्यूनीकरणका लागि जनचेतना अभिवृद्धि, ट्राफिक व्यवस्थापनमा सुधार, सडक पूर्वाधारको स्तरोन्नति तथा सम्बन्धित निकायबीच प्रभावकारी समन्वय आवश्यक रहेको बताउनुभयो।
मुख्यमन्त्री आचार्यले सडक दुर्घटनाबाट ठूलो मानवीय तथा आर्थिक क्षति हुने भएकाले त्यसको रोकथामका लागि दीर्घकालीन, प्रभावकारी तथा परिणाममुखी कार्यक्रम सञ्चालन गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो। सुरक्षित सडक र सुरक्षित यात्राको वातावरण निर्माणका लागि सरकार, सुरक्षा निकाय, स्थानीय तह तथा नागरिक सबै पक्षको साझा प्रयास अपरिहार्य रहेको उहाँको भनाइ थियो।
रूपन्देहीको बुटवल उद्योग वाणिज्य संघको सभाहलमा आयोजित गोष्ठीमा लुम्बिनी प्रदेश प्रहरी कार्यालय, ट्राफिक प्रहरी, स्थानीय तहका प्रतिनिधि तथा विभिन्न सरोकारवाला निकायका पदाधिकारीहरूको सहभागिता रहेको थियो।
लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रहरी नायव महानिरीक्षक भूपेन्द्रबहादुर खत्रीको अध्यक्षता तथा मुख्यमन्त्री आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा ट्राफिक व्यवस्थापन, सडक सुरक्षा तथा सवारी दुर्घटना न्यूनीकरणका उपायबारे समीक्षा र विस्तृत छलफल गरिएको थियो।













प्रतिक्रिया दिनुहोस्