रामेछाप, असार ६। नेकपा एमाले रामेछाप नगर कमिटीको पाँचौं पूर्ण बैठक शनिबार पुष्पलालकाे जन्मथलाे भंगेरीमा सम्पन्न भएको छ। नगर कमिटी अध्यक्ष रोशन पाख्रिनकाे अध्यक्षतामा तथा वाग्मती प्रदेश कमिटी सदस्य शान्तिप्रसाद पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न बैठकले संगठन सुदृढीकरण, आगामी कार्ययोजना, विकासका प्राथमिकता तथा समसामयिक राजनीतिक विषयमा विस्तृत छलफल गर्दै विभिन्न निर्णय गरेको छ।
बैठकमा नगरका नौवटै वडा कमिटीका अध्यक्षहरूले आम निर्वाचनपछिको वडागत राजनीतिक तथा संगठनात्मक अवस्थाबारे प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। उहाँहरूले निर्वाचनमा केही स्थानमा मत परिवर्तन भए पनि पार्टी परिवर्तन गर्ने मतदाताको संख्या न्यून रहेको धारणा राख्नुभयो।
उहाँहरूले केही व्यक्तिहरू अवसरको खोजीमा अन्य राजनीतिक दलतर्फ गएको उल्लेख गर्दै त्यसबाट पार्टी कमजोर नभई झन् संगठनलाई व्यवस्थित र सुदृढ बनाउन सहज हुने विश्वास व्यक्त गर्नुभयो। वडा अध्यक्षहरूले पार्टीभित्र एकता, अनुशासन र सक्रियताका साथ योजनाबद्ध रूपमा अघि बढ्न सके आगामी स्थानीय तह निर्वाचनमा एमालेले रामेछाप नगरपालिकामा उल्लेखनीय सफलता हासिल गर्न सक्ने निष्कर्षसमेत प्रस्तुत गर्नुभएको थियो।
बैठकमा नेकपा एमाले रामेछाप जिल्ला कमिटीका उपाध्यक्ष होतराज ढकाललगायत जिल्ला कमिटीका पदाधिकारी तथा सदस्य, पालिका कमिटीका पदाधिकारी, सदस्य तथा वडा कमिटीका अध्यक्षहरूको सहभागिता रहेको थियो।

यसैबीच, नेकपा एमाले मन्थली नगरपालिका कमिटीको सचिवालय बैठक पनि शनिबार नै सम्पन्न भएको छ। नगरपालिका कमिटी अध्यक्ष रामबाबु घिमिरेको अध्यक्षता तथा पार्टीका केन्द्रीय सदस्य समाधव ढुंगेलको प्रमुख आतिथ्यतामा सम्पन्न बैठकमा वाग्मती प्रदेश कमिटीका नेताहरू, जिल्ला कमिटी अध्यक्षसहित पदाधिकारी तथा सदस्यहरू, साथै नगर सचिवालयका सदस्यहरूको सहभागिता रहेको थियो।
बैठकले निर्वाचनको समीक्षा गर्दै आगामी दिनमा संगठनलाई थप सक्रिय बनाउने विषयमा छलफल गरेको थियो। साथै, पार्टी सदस्यता नवीकरण अभियानलाई प्रभावकारी रूपमा सञ्चालन गर्ने, संगठन विस्तारलाई तीव्रता दिने तथा आगामी राजनीतिक कार्यक्रमलाई योजनाबद्ध रूपमा अघि बढाउने सम्बन्धमा महत्वपूर्ण निर्णय गरिएको जनाइएको छ।
बैठकमा सहभागी नेताहरूले पार्टी संगठनलाई वडास्तरसम्म अझ सशक्त बनाउँदै जनतासँगको सम्बन्धलाई थप मजबुत बनाउने, पार्टीका नीति तथा कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने र आगामी निर्वाचनलाई लक्षित गरी अहिलेबाटै तयारीमा जुट्नुपर्नेमा जोड दिनुभएको थियो।

यस अघि आजै नेकपा एमाले मन्थली नगरपालिका स्थानीय तह समन्वय संयन्त्रको बैठक पनि सम्पन्न भएको छ। संयन्त्रका संयोजक वाग्मती प्रदेश कमिटी सदस्य तथा मन्थली नगरपालिकाका प्रमुख लव श्रेष्ठको अध्यक्षतामा सम्पन्न बैठकमा चालु आर्थिक वर्ष २०८२/८३ को प्रगति समीक्षा तथा आगामी आर्थिक वर्ष २०८३/८४ का कार्यक्रम र बजेटका विषयमा विस्तृत छलफल गरिएको थियाे ।













प्रतिक्रिया दिनुहोस्