जनता टाइम्स

६ असार २०८३, शनिबार २१:३७

पार्टीभित्रका सबै समस्या विधिको सीमाभित्रै समाधान हुनुपर्छ : एमाले उपाध्यक्ष विष्णु पौडेल


काठमाडौं, असार ६। नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेलले पार्टीभित्र देखिएका वा भविष्यमा देखापर्न सक्ने सबै समस्याको समाधान पार्टीको स्वीकृत विधि र संस्थागत प्रक्रियाभित्रबाट खोजिनुपर्ने बताउनुभएको छ।

शनिबार धनगढीमा नेकपा (एमाले) सुदूरपश्चिम प्रदेश कमिटीद्वारा आयोजित निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठनसम्बन्धी सुझाव संकलन कार्यक्रमपछि सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै उपाध्यक्ष पौडेलले स्वस्थ बहस, छलफल र सुझावलाई प्रोत्साहन गरिनुपर्ने तर त्यसलाई विभाजनको आधार बनाउने वा विभाजनको त्रास देखाएर बहसलाई निरुत्साहित गर्ने दुवै प्रवृत्ति स्वीकार्य नहुने स्पष्ट पार्नुभयो।

उहाँका अनुसार करिब १३ घण्टा लामो छलफलमा सहभागी नेता–कार्यकर्ताले निर्वाचन समीक्षा, पार्टी पुनर्गठन तथा एमालेमार्फत देश र जनताको उज्ज्वल भविष्य निर्माणका विषयमा अत्यन्त महत्वपूर्ण, मर्मस्पर्शी र रचनात्मक सुझाव प्रस्तुत गर्नुभएको थियो।

उपाध्यक्ष पौडेलले एमाले सञ्चालनका लागि स्पष्ट रूपमा स्वीकृत विधि रहेको उल्लेख गर्दै विधिको पालना नै पार्टीको एकताको आधार भएको बताउनुभयो। उहाँले विधिको उल्लङ्घनले विग्रह र विभाजन निम्त्याउने भएकाले सबै नेता–कार्यकर्ताले संस्थागत निर्णय र पार्टी अनुशासनलाई प्राथमिकता दिनुपर्ने धारणा राख्नुभयो।

उहाँले स्वस्थ छलफल, बहस र सुझावलाई विभाजनको पूर्वाभ्यासका रूपमा चित्रित गर्ने प्रवृत्ति उचित नभएको उल्लेख गर्नुभयो। साथै, बहसकै आडमा पार्टी विभाजनको वातावरण सिर्जना गर्ने प्रयास पनि स्वीकार्य नहुने स्पष्ट पार्नुभयो।

उपाध्यक्ष पौडेलले विभाजनको मनोवैज्ञानिक त्रास सिर्जना गरेर पार्टीभित्रको छलफल र सुझावलाई निरुत्साहित गर्ने कार्य गलत हुने बताउँदै, अर्कोतर्फ छलफल र बहसका नाममा अराजकताको बाटो रोज्ने प्रवृत्ति पनि मान्य हुन नसक्ने धारणा व्यक्त गर्नुभयो।

उहाँले कार्यक्रममा सहभागी नेता–कार्यकर्ताले विधिसम्मत, स्वस्थ, भयरहित र तर्कपूर्ण ढंगले आफ्ना विचार राखेको भन्दै त्यसको प्रशंसा गर्नुभयो। निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठनका पक्षमा प्रस्तुत गरिएका विचार, विश्लेषण र सुझावहरू ग्रहणयोग्य रहेको उल्लेख गर्दै उहाँले ती सुझावलाई पार्टीले संस्थागत रूपमा उपयोग गर्ने विश्वास व्यक्त गर्नुभयो।

कार्यक्रममा सहभागी सबै नेता–कार्यकर्ताप्रति धन्यवाद व्यक्त गर्दै उपाध्यक्ष पौडेलले पार्टीलाई थप सुदृढ, एकताबद्ध र जनमुखी बनाउने अभियानमा सबैको सक्रिय योगदान आवश्यक रहेको बताउनुभएको छ।