काठमाडौं, असार ६। नेकपा (एमाले) का नेता सूर्य थापाले पार्टी पुनर्गठनको प्रक्रिया व्यक्तिकेन्द्रित वा विभाजनको आधार बन्न नहुने भन्दै विधि, नीति र पद्धतिका आधारमा एकताबद्ध एमाले निर्माणमा केन्द्रित हुनुपर्ने बताउनुभएको छ।
एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदललाई सुझाव दिने क्रममा उहाँले पार्टीले निर्वाचनमा हार बेहोरेपछि समीक्षा हुनु स्वाभाविक भए पनि त्यसलाई सही निष्कर्षमा पुर्याउँदै संगठनलाई थप सुदृढ बनाउने अवसरका रूपमा लिनुपर्ने धारणा राख्नुभयो।
उहाँले निर्वाचन परिचालन कमिटीले समीक्षा प्रतिवेदन बुझाइसकेको उल्लेख गर्दै त्यसमा थप सुझाव वा सुधार आवश्यक भए संस्थागत रूपमा समावेश गर्नुपर्ने बताउनुभयो।
पुनर्गठनको विषयलाई अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनको अनुभवसँग जोड्दै नेता थापाले तत्कालीन सोभियत संघमा लागू गरिएको ‘पेरेस्त्रोइका’ (पुनर्गठन) र ‘ग्लास्नोस्त’ (खुलापन) को उदाहरण प्रस्तुत गर्नुभयो। उहाँले पुनर्गठन सही दिशामा अघि बढेको भए सोभियत कम्युनिष्ट पार्टी, समाजवाद र राज्य व्यवस्था जोगिन सक्ने भए पनि गलत कार्यान्वयनका कारण ती सबै समाप्त भएको उल्लेख गर्दै एमालेले त्यही गल्ती दोहोर्याउन नहुने चेतावनी दिनुभयो। ‘यदि पेरेस्त्रोइकाजस्तै पुनर्गठनको थालनी गरियो भने हामीले गोर्बाचोभ जन्माउनेछौँ, तर त्यसले पार्टी, आन्दोलन र देशलाई अगाडि बढाउने छैन,’ उहाँले भन्नुभयो।
उहाँले पार्टी सचिवालयसँग पुनर्गठनबारे स्पष्ट र साझा दृष्टिकोण छ वा छैन भन्ने प्रश्न उठाउँदै पुनर्गठनको मूल उद्देश्य पार्टीलाई वैचारिक, राजनीतिक र सांगठनिक रूपमा अझ एकताबद्ध बनाउनु हुनुपर्ने धारणा व्यक्त गर्नुभयो।
नेता थापाले पार्टीभित्र आवश्यक शुद्धीकरण, सुदृढीकरण र रूपान्तरण गर्नुपर्ने आवश्यकता औँल्याउँदै पुनर्गठन व्यक्तिविशेषलाई लक्षित अभियान नभई विधि र नीतिअनुसार हुनुपर्नेमा जोड दिनुभयो।
उहाँले अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनका नेता जोसेफ स्टालिन र माओत्सेतुङको मूल्याङ्कनको प्रसंग उठाउँदै नेतृत्वका योगदान र कमजोरी दुवैलाई सन्तुलित ढंगले हेर्नुपर्ने बताउनुभयो। सोही सन्दर्भमा एमाले अध्यक्ष केपी शर्मा ओलीको योगदान कमजोरीभन्दा धेरै ठूलो रहेको आफ्नो धारणा पनि उहाँले राख्नुभयो।
पार्टीभित्र अहिले तीन प्रकारका धारणा देखिएको उल्लेख गर्दै नेता थापाले पहिलो धारले सबै समस्या अन्तर्राष्ट्रिय कारणले मात्रै उत्पन्न भएको ठान्ने, दोस्रो धारले सबै दोष अध्यक्ष ओलीलाई मात्र दिने र तेस्रो धारले आन्तरिक कमजोरीसँगै बाह्य चुनौती दुवैलाई स्वीकार गरेर समाधान खोज्नुपर्ने दृष्टिकोण अघि सारेको बताउनुभयो। आफू तेस्रो दृष्टिकोणको पक्षमा रहेको उहाँले स्पष्ट पार्नुभयो।
उहाँले पुनर्गठनको बहानामा अध्यक्ष ओलीलाई मात्रै दोषी देखाउने प्रयास उचित नहुने बताउँदै पार्टीभित्र विधि, मेरिटोक्रेसी, निष्पक्षता र संस्थागत प्रक्रियालाई मजबुत बनाउनुपर्ने धारणा व्यक्त गर्नुभयो। विधि मिचिएको भए सच्याउनुपर्ने, पक्षपात भएको भए हटाउनुपर्ने र नेतृत्वदेखि तल्लो तहसम्म सबैले आत्मसमीक्षा गर्नुपर्ने आवश्यकता पनि उहाँले औँल्याउनुभयो।
लुम्बिनी प्रदेश सरकारको कार्यसम्पादनको प्रसंग उल्लेख गर्दै उहाँले सरकार सञ्चालनका कमजोरीहरूले निर्वाचन परिणाममा असर पारेको भन्दै यस्ता विषय पनि पुनर्गठनको समीक्षा प्रक्रियामा समावेश हुनुपर्ने बताउनुभयो। नेता थापाले विगतको ‘सेक्टर काण्ड’को उदाहरण दिँदै आवश्यक परे पार्टी सचिवालयका सबै नेताले पनि जिम्मेवारीप्रति आत्मसमीक्षा गर्न तयार हुनुपर्ने धारणा व्यक्त गर्नुभयो।
उहाँले विधि, नीति, पद्धति र संस्थागत प्रक्रियाका आधारमा एकताबद्ध भएर अघि बढ्न सके एमाले फेरि सशक्त रूपमा उभिने विश्वास व्यक्त गर्नुभयो। ‘हामी एकताबद्ध भएर नै जाग्नेछौँ, उठ्नेछौँ र फेरि अगाडि बढ्नेछौँ,’ उहाँले भन्नुभएकाे छ ।













प्रतिक्रिया दिनुहोस्